२०८३ भाद्र १ गते सोमवार

तुलसीपुरमा श्रीमती हत्या प्रकरणका चारजनालाई थुनामा आदेश

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दोघर्रेनिवासी कमला खड्का वलीको हत्या मुद्दामा चारजनालाई पुर्पक्षकालाग थुनामा राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ ।

यसअघि जिल्ला अदालत दाङले श्रीमान् गोपाल वलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो, भने बुबा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला वलीलाई धरौटीमा छोड्न आदेश गरेको थियो ।

त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार अन्य तीनजनालाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

उच्च अदालतले जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न आदेश दिएको हो ।

अदालतले उपलब्ध प्रमाणहरूको गहन विश्लेषण गर्दै यो आदेश दिएको हो । मिसिलमा संलग्न शव परीक्षण प्रतिवेदनअनुसार मृतकको मृत्यु टाउकामा लागेको गहिरो चोटका कारण भएको देखिएको छ ।

घटनास्थल मुचुल्काबाट चारवटा चारपाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ भने छोरा र छोरी तथा प्रत्यक्षदर्शीको बयानलाई पनि आधार मानेको छ ।

मृतकका पक्षबाट अधिवक्ता मोहनप्रसाद धिताल, प्रदीपकुमार गौतम र विजय पोख्रेलले बहस गरेका थिए भने विपक्षीका तर्फबाट सहन्यायाधिवक्ता महेशप्रसाद खत्री र अधिवक्ता कुमारराज श्रेष्ठले बहस गरेका थिए । यो आदेशसँगै अब सबै प्रतिवादीहरूले थुनामा रहेरै मुद्दाको अन्तिम किनारा कुर्नुपर्ने भएको छ । गएको चैत ११ गते वलीको घरमै हत्या गरिएको थियो । हत्यामा संलग्न श्रीमान् नेपाल सरकारका लेखा अधिकृतसमेत थिए ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस