२०८३ भाद्र १ गते सोमवार

जेनजी आन्दोलनमा क्षति हुँदा उच्च अदालत तुलसीपुरलाई कार्य सम्पादनमा समस्या


दाङ । उच्च अदालत तुलसीपुरले बितेको आर्थिक वर्ष २०८२/२०८३ को वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले सार्वजनिक गर्नुभएको प्रगति विवरण अनुसार बितेको आर्थिक वर्षमा अदालतले कुल लगतको ६८.०७ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको बताउनुभयो ।

तर अघिल्लो वर्षको तुलनामा निकै कम हो । उहाँले भौतिक संरचनाको अभाव र मिसिल जलेपनि ६८ प्रतिशत मुद्धा फछ्र्यौट सफल भएको बताउनुभयो । मुख्य न्यायाधीश राजेश्वर तिवारीले गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा अदालतका धेरै महत्वपूर्ण मिसिलहरू जलेको र भवनमा समेत आगजनी तथा क्षति पुर्‍याइएका कारण कार्य सम्पादनमा गम्भीर समस्या उत्पन्न भएको बताउनुभयो ।

भौतिक संरचना र कागजातको क्षति नै प्रगति घट्नुको मुख्य कारण रहेको उहाँले बताउनुभयो । सार्वजनिक गरिएको पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा मुद्दा फछ्र्यौटको दरमा ठूलो उतारचढाव देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा अदालतले आफ्नो इतिहासकै उत्कृष्ट कार्यसम्पादन गर्दै ८५.४४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको थियो । तर बितेको आर्थिक वर्ष २०८२/०८३ मा कुल १ हजार ६५ रहेकोमा ७२५ वटा मात्रै मुद्दा फछ्र्यौट भएका छन् ।

अघिल्लो वर्षको तुलनामा अदालतको कार्यसम्पादनमा झण्डै १७ प्रतिशतको भारी गिरावट आएको हो । विगत पाँच वर्षको अवस्था हेर्दा आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा कम ५०.६६ प्रतिशत मुद्दा फछ्र्यौट भएको थियो भने त्यसपछिको दोस्रो कमजोर प्रदर्शन बितेको वर्षमा भएको हो ।

गत वर्ष जेनजी आन्दोलन र भौतिक क्षतिका बाबजुद पनि अदालतले २ वर्ष नाघेको कुनै पनि मुद्दा बाँकी नराख्ने आफ्नो पुरानो साखलाई बितेको वर्ष पनि कायम राख्न सफल भएको छ । जस अनुसार हाल २ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस