दाङ, २ जेठ । लुम्बिनी प्रदेश सरकारले आम नागरिकलाई सवारी साधनसँग सम्बन्धित सेवा विस्तार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालय नभएका जिल्लाहरू र दाङको घोराहीमा सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण तथा अस्थायी बाटो इजाजत सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेका अनुसार अब गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दिया जिल्लाबाटै सवारी धनीहरूले आफ्नो सवारीको नवीकरण गर्न सक्नेछन् ।
यसैगरी, दाङको घोराहीमा पनि यो सेवा विस्तार गर्ने निर्णय भएको छ । हाल दाङको तुलसीपुरमा मात्र यातायात व्यवस्था कार्यालय रहेकोमा अब घोराहीबाटै सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत लिन सकिने मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।
आउने साउन १ गतेदेखि भने सेवाग्राहीहरूले आफ्नै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट यो सेवा प्राप्त गर्नेछन् । प्रदेश सरकारको यो निर्णयसँगै यातायात क्षेत्रको सेवा प्रवाहमा विकेन्द्रीकरण हुने र नागरिकको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ ।
















