२०८३ जेष्ठ ११ गते सोमवार

वन संरक्षणसँगै उद्यम विकासको सम्भावना : अध्यक्ष गिरी


दाङ । दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले क्षमता विकास तालिम केवल सीप सिकाउने माध्यम मात्र नभई सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

सामुदायिक वनको दिगो व्यवस्थापन, वन स्वास्थ्य अनुगमन तथा पुनर्स्थापना सम्बन्धी क्षमता विकास तालिमको दङ्गीशरण गाउँपालिका–४ बैवाङमा आज सोमबार भएको उद्घाटन कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले सामुदायिक वनमार्फत विभिन्न उद्यम सञ्चालन गरी आर्थिक लाभ लिन सकिने उल्लेख गर्दै दङ्गीशरण गाउँपालिकाका–१ र २ नम्बर वडा चुरे क्षेत्रसँग जोडिएकाले त्यहाँ प्रशस्त जडीबुटी पाइने र त्यसबाट स्थानीयको आर्थिक समृद्धिको सम्भावना रहेको बताउनुभयो । स्थानीय स्तरमै कच्चा पदार्थ सहजै उपलब्ध हुने भएकाले उद्यमीहरू आयआर्जनसँग जोडिन सक्ने उहाँको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले तालिममा सिकेका विषयलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गर्नुभयो । समुदायको सक्रिय सहभागिताबाट मात्रै सामुदायिक वन संरक्षण सम्भव हुने र संरक्षण गरिएको वनले आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताउनुभयो ।

वडा नम्बर २ का अध्यक्ष डम्बर खत्रीले तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न नसके तालिमको सार्थकता नहुने बताउनुभयो । वातावरण संरक्षणमा मानवीय भूमिका महत्वपूर्ण भएकाले सामुदायिक वन जोगाउनु सबैको कर्तव्य भएको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी वडा नम्बर १ का अध्यक्ष रमेश भण्डारीले जलवायु परिवर्तन तीव्र बन्दै गएको भन्दै सामुदायिक वन संरक्षणमा सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । वनजङ्गल विनाशका कारण अनियमित वर्षा, खडेरी तथा अत्यधिक वर्षा जस्ता समस्या बढ्दै गएको बताउनुभयो ।

वन महासङ्घ दाङका सहसचिव भुपबहादुर केसीले वन संरक्षणमा उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउँदै उपभोक्तामा देखिएको निराशा हटाउन स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सोमबारदेखि वैवाङमा सुरू भएको तालिममा उद्यमी सदस्य तथा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूको सहभागिता रहेको छ । तालिममा सहभागी सरोकारवालाले सामुदायिक वन संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

संस्थाका सहकारी शिक्षा उपसमिति सदस्य अन्जना विकको अध्यक्षता तथा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष खड्काको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । संस्थाका प्रबन्धक चक्र मिलन विश्वकर्माले स्वागत तथा विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण सचिव इन्द्राकुमारी घर्तीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस