२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरलाई बालमैत्री नगर बनाउने तयारीस्वरुप सरोकारवालासंग छलफल


दाङ । तुलसीपुरलाई बालमैत्री नगर बनाउनका लागि सरोकारवालासंग छलफल गरिएको छ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजनामा भएको छलफल कार्यक्रममा सरोकारवालाले तुलसीपुरलाई बालमैत्री नगर निर्माणका लागि आवश्यक सूचक पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले तुलसीपुरलाई २०८५ सालसम्म बालमैत्री नगर घोषणा गर्न सकिने बताउनुभयो । उहाँले बालमैत्री नगरका लागि सरकारी र गैह्रसरकारी संस्था संगसंगै जानुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारले अहिले पनि बालबालिको क्षेत्रमा कम लगानी गरेको हुँदा आगामी क्षेत्रमा लगानी बढाउने पनि बताउनुभयो । उहाँले विद्यालयबाहिर रहेका बालबालिकाको तथ्यांक संकलन भइसकेको र छिट्टै सार्वजनिक गरिने बताउनुभयो ।

महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले तुलसीपुरलाई बालमैत्री नगर घोषणाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले बालमैत्री नगर निर्माणका लागि अहिले विभिन्न सरोकारवालासंग छलफल, समन्वय गरिरहेको समेत बताउनुभयो ।

नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरका अध्यक्ष नवराज लामीछानेले बालमैत्री नगरका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकमा बालबालिकाको अर्थपूर्ण सहभागीता हुनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री नगर बनाउनका लागि अहिले विभिन्न चरणमा छलफल र सुझाव संकलन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक बालविज्ञ दुर्गालाल केसीले बालबालिको समग्र नेतृत्व अनि व्यक्ति विकासका लागि बालमैत्री स्थानीय शासन आवश्यक रहेको बताउनुभयो । यस्तै एन प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले विद्यालय क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्रिवितरण रोक्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझाले बालमैत्री नगर बनाउनका लागि विद्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक सूचकहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै नमुना शान्ति महिला संसदका सभामुख सीमा न्यौपानेले बालबालिकाको अधिकार सूनिश्चितताको लागि महिलाको प्रमुख भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा नगरस्तरिय बाल संजालका अध्यक्ष प्रशंशा केसी, मावि सेन्टरका बाल क्लव अध्यक्ष मनिषा वली, ज्ञानज्योतिका नारायण पोखरेलले बालबालिकाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस