दंगीशरण । स्वास्थ्य क्षेत्रको कार्य सम्पादनमा दंगीशरण गाउँपालिका दाङ जिल्लामै प्रथम भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वास्थ्य क्षेत्रको कार्यसम्पादन तथा मूल्याङ्कनमा दाङ जिल्लामै प्रथम स्थान हासिल गरेको हो ।
कार्यमा उत्कृष्टता हासिल गरेको अवसरमा बुधबार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा सातवटै वडाका ५१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई खादा, प्रशंसापत्र तथा ५१ वटा दराज हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लामै उत्कृष्ट नतिजा हासिल हुनु स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिको अथक मेहनत, समर्पण र सेवाभावको प्रतिफल भएको बताउनुभयो ।
उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने सशक्त आधार भएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, पोषण, सरसफाइ, महिला तथा बालबालिकाको संरक्षण, वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा उनीहरूको योगदान अतुलनीय रहेको धारणा राख्नुभयो ।
गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले महामारी तथा विभिन्न सङ्कटका समयमा अग्रपङ्क्तिमा रहेर समुदायको सेवामा निरन्तर खटिने महिला स्वास्थ्य स्वयंसेविकाको समर्पण प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि उनीहरूको मनोबल उच्च राख्न गाउँपालिका प्रतिबद्ध रहने बताउनुभयो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाका तर्फबाट गोमा न्यौपाने, स्वास्थ्यकर्मीका तर्फबाट आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा, कार्यपालिका सदस्य सीतारा नेपाली, वडा नं. ३ का अध्यक्ष शुक्लाल चौधरी, वडा नं. १ का अध्यक्ष रमेश भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले मन्तव्य व्यक्त गर्दै जिल्लामै प्रथम स्थान हासिल गर्नु दंगीशरण गाउँपालिकाको साझा सफलता भएको उल्लेख गरे। उनीहरूले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर प्रमोद आचार्यले गर्नुभएको हो ।
दंगीशरण गाउँपालिकाले स्वास्थ्य सेवा सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, जनस्वास्थ्य प्रवद्र्धन तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ । यही निरन्तर प्रयासका कारण गाउँपालिकाले जिल्लामै उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।













