२०८३ बैशाख १ गते मङ्गलवार

लुम्बिनी प्रदेश प्रहरीद्वारा प्रविधिमैत्री सेवा विस्तार

दाङ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन नयाँ प्रविधिको सुरुवात गरेको छ ।

प्रहरी सेवालाई आधुनिक बनाउने क्रममा अब सेवाग्राहीले आफूले दिएको उजुरी वा निवेदनको कारबाही कुन प्रक्रियामा पुगेको छ भन्नेबारे घरमै बसेर फोन तथा एसएमएसमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था लागू भएसँगै सामान्य जानकारीका लागि पनि पटक–पटक प्रहरी कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ भने सेवाग्राहीको समय र श्रमको समेत बचत हुने देखिएको छ ।

यसैगरी प्रहरीले नागरिकका गुनासो र उजुरीलाई अझै सहज र सुरक्षित तवरले संकलन गर्न क्यूआर कोड सेवा पनि सञ्चालनमा ल्याएको छ । यदि कसैलाई कुनै पनि प्रकारको गुनासो वा उजुरी दिनु परेमा क्यूआर कोड स्क्यान गरी गोप्य रूपमा आफ्नो विवरण पठाउन सकिने प्रहरीले जनाएको छ ।

यसरी प्राप्त हुने उजुरी वा सूचनामाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाइने र उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने भएकाले ढुक्क भएर सेवा लिन लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सबैमा आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस