२०८३ बैशाख १४ गते सोमवार

खानेपानीका समस्या बारे मुख्यमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेशभर सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूले भोगिरहेका विभिन्न नीतिगत, कानुनी तथा व्यावहारिक समस्याको समाधानका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ।


महासंघका प्रदेश अध्यक्ष प्रदीप गौतम र महासचिव नीलकण्ठ पोखरेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीय तहमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा प्रवाहमा उपभोक्ता समितिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ। तर पछिल्लो समय विभिन्न नीतिगत व्यवस्था, आर्थिक भार तथा कानुनी जटिलताका कारण समितिहरूको कार्यसम्पादन प्रभावित बन्दै गएको जनाइएको छ।


ज्ञापनपत्रमा खानेपानी आयोजनामा प्रयोग हुने विद्युत शुल्कमा कुनै विशेष छुट नहुँदा सञ्चालन खर्च अत्यधिक बढेको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार परेको उल्लेख छ। वित्तीय संस्थाबाट लिइएका ऋणमा उच्च ब्याजदरका कारण धेरै उपभोक्ता समितिहरू आर्थिक संकटमा परेको जनाइएको छ।

तेस्रो, नाफामुखी नभएका उपभोक्ता समितिहरूलाई समेत आयकरको दायरामा ल्याइँदा थप आर्थिक बोझ सिर्जना भएको महासंघको भनाइ छ। त्यसैगरी, सरकारले ल्याएका केही ऐन तथा नियमावलीका प्रावधानले उपभोक्ता समितिहरूको अस्तित्वमै असर पार्ने अवस्था सिर्जना गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ।

यस्ता नीतिगत व्यवस्थाले दीर्घकालीन रूपमा खानेपानी सेवा प्रवाहमा अवरोध उत्पन्न हुने र आम उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित हुने चेतावनी दिइएको छ।
महासंघले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूका समस्या समाधानका लागि प्रदेश सरकारमार्फत आवश्यक पहल गर्न, विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन, सहुलियतपूर्ण ब्याजदरको व्यवस्था मिलाउन, आयकरसम्बन्धी नीतिमा पुनर्विचार गर्न तथा उपभोक्ता समितिमैत्री कानुनी व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।


यसैबीच, महासंघको प्रदेश कार्यसमिति बैठकले लुम्बिनी प्रदेशमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको पहिलो प्रदेश भेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने प्रदेश सरकार, विभिन्न संघसंस्था, पत्रकार, बुद्धिजीवी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै, प्रदेशभित्र रहेका सम्पूर्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई महासंघमा आबद्ध हुन पनि आग्रह गरिएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस