रोल्पा । रोल्पामा गाडी दुर्घटनमा परी निधन हुने तीनै जनाको सनाखत भएको छ । दुर्घटनामा परी दुई पुरुष र एक महिलाको निधन भएको हो । मृत्यु हुने तीनै जना दाङका रहेको प्रहरीले जनाएको छ ।
रोल्पा प्रहरीका अनुसार गाडी चालक घोराही उपमहानगरपालिका वडा नं. ७ देसाहीका २५ वर्षका बिर बहादुर चौधरी, दङ्गिशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँका ४० वर्षिय गाडी धनी जिउधन चौधरी र उहाँको श्रीमती ३८ वर्षिय कमला चौधरीको मृत्यु भएको हो ।
गाडी माडी गाउँपालिका वडा नं. २ घर्तिगाउँ व्याङखोला स्थित सहिद मार्गमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाकै घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय घर्तिगाउँका अनुसार निर्माण सामग्री बोकेको अस्थाई नम्बर प्लेट एम–एच–१४–टि–सी–जे ४७१ भएको सिङ्गल क्याब बोलेरो पिकअप गाडी आज बिहान ८ बजेतिर सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
गाडीमा जस्तापाता, सिमेन्ट, र प्लास्टिकको पाइप लगायतका सामग्री लोड गरिएको थियो ।


















