दाङ । सरकारले सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा फेरि बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक गाडीको भाडा बढाएको हो । बढेको भाडा आजदेखि नै लागू हुनेछ ।
विभागले अन्तरप्रदेश यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ५/५ प्रतिशतका दरले बढाएको छ । यसअघि गएको चैत २५ गते पनि सार्वजनिक गाडीको भाडा बढेको थियो ।
विद्युतीय गाडीले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । विद्युतीय गाडीले भाडा बढाएमा कारबाही हुने विभागको चेतावनी छ ।
अन्तरप्रदेश चल्ने गाडीको भाडा विभागले र प्रदेशभित्रको सम्बन्धित प्रदेशले समायोजन गर्ने व्यवस्था छ । २०७८ साल चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक गाडीको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली लागू गरेको थियो ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा त्यही अनुपातमा भाडा समायोजन गर्ने स्वचालित व्यवस्थाअनुसार भाडा बढाउने निर्णय गरेको विभागले जनाएको छ ।















