२०८३ बैशाख १७ गते बिहिवार

बुद्धका शिक्षाले विश्वशान्तिको मार्ग देखाउँछ : मेयर टिकाराम

दाङ । विश्वमा बढ्दो हिंसा, द्वन्द्व, असहिष्णुता र अशान्तिको अन्त्यका लागि भगवान् गौतम बुद्धका सन्देश आजका दिनमा पनि सान्दर्भिक र अपरिहार्य रहेको छ । २५७० औँ बुद्ध जयन्तीको अवसरमा तुलसीपुरको मेट्रो कलेजले आयोजना गरेको ‘बुद्धले फैलाएको शान्तिको सन्देश र आजको सन्दर्भ’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विश्वशान्तिको स्थापनाका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले समाजमा बढ्दो असहिष्णुता, हिंसा र नैतिक विचलनका कारण अशान्ति फैलिरहेको उल्लेख गर्दै बुद्धका पञ्चशील—प्राणीहत्या नगर्ने, चोरी नगर्ने, दुराचार नगर्ने, असत्य नबोल्ने र मादक पदार्थ सेवन नगर्ने—सिद्धान्तले सभ्य, नैतिक र शान्त समाज निर्माणमा मार्गदर्शन गर्ने बताउनुभयो । उहाँले उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कलेजमा समेत बुद्धका ज्ञान र विचारसम्बन्धी विषय अध्यापन गराउँदै आएको जानकारी दिनुभयो ।

कलेजका बौद्ध दर्शन विषयका सहप्राध्यापक किशोर अर्यालले मानव जीवनमा बढ्दो तनाव, हिंसा र द्वेषको अन्त्य गरी आन्तरिक शान्ति स्थापना गर्न बुद्धका वचन अत्यन्त उपयोगी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बुद्धका उपदेश केवल धार्मिक शिक्षामात्र नभई जीवन जिउने व्यावहारिक कला भएको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रतिनिधि पवन यादवले विश्वमा दिगो शान्ति स्थापना गर्न बौद्ध शिक्षा र दर्शनको अध्ययन तथा अनुसरण आवश्यक रहेको बताउनुभयो । कलेजको कानुन स्नातक तहमा अध्ययनरत विद्यार्थी अञ्जली शाहले बुद्धका शिक्षाले मानव जीवन, समाज र विश्वमा पारेको सकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो ।

कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूले बुद्ध वन्दना प्रस्तुत गरेका हुन् । कार्यक्रमको सञ्चालन कलेजका सुधासुमन ढकालले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस