दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ–देउखुरीको बैठक घोराहीमा सम्पन्न भएको छ। अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले गत फागुन २१ गते भएको निर्वाचनको समीक्षा गर्दै विगतका सरकारहरूको भ्रष्टाचार, राष्ट्रघात र कुसासनका कारण जनतान्त्रिक शक्ति कमजोर भएको निष्कर्ष निकालेको छ । साथै, पार्टीले मतदान गर्ने मतदातालाई धन्यवाद दिएको छ ।
यस्तै, जेठ १ गतेदेखि मसान्तसम्म जिल्लाभर सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । संविधान संशोधनका विषयमा वैशाख २९ गते घोराहीमा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने जनाइएको छ ।
बैठकले पार्टीका जिल्ला सदस्य हरी थापालाई अनुशासन उल्लङ्घन गरेको आरोपमा पदबाट हटाउने निर्णय पनि गरेको छ । त्यस्तै, लालपुर्जा बिना बसोबास गरिरहेका नागरिकहरूलाई हटाउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै पार्टीले वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु गलत हुने बताएको छ ।















