२०८३ बैशाख १७ गते बिहिवार

थारू समुदायको परम्परा पुस्तान्तरण गर्न स्वयंले पहल लिनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ ।

थारू आयोगले राप्ती उपत्यका (देउखुरी) मा बिहीबार आयोजना गरेको थारू समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थासम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदाय मौलिक कला र संस्कृतिमा धनी भए पनि युवा पुस्तामा हस्तान्तरण हुन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संस्कृति संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार वरघरसम्बन्धी ऐन मन्त्रिपरिषदबाट पारित भई प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको छ। परम्परागत कला तथा संस्कृतिको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

थारू बाहुल्य जिल्लालाई लक्षित गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले मुक्त कमैया र कमलहरीको सिप अभिवृद्धि तथा उच्च शिक्षाका लागि सहयोगका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारुको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारुले थारू समुदायको उत्थान, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा प्रदेश सरकारले बजेटको आकारअनुसार सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशभित्रका कमलहरीका लागि उच्च शिक्षा सहायता छात्रवृत्ति, सिकलसेल रोगको उपचार सहयोगलाई नियमित कार्यक्रमका रूपमा विकास गर्र्न आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरी, भुयाँर थान निर्माण, वरघर संस्कृतिको संरक्षण तथा थारू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने विषयमा पनि जोड दिनुुभयोे । थारू सभ्यताको संरक्षण प्रज्ञा प्रतिष्ठानमार्फत अघि बढाउने तयारीसमेत रहेको जनाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस