दाङ । बेल्झुण्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको १ हजार ३ सय ३६ बिघा जग्गाजमिन २५ वर्षदेखि अरूकै कब्जामा रहेको छ ।
राजनीतिक आडमा २०५८ सालदेखि केही सुकुम्बासीको नाममा हुकुमवासीको नियन्त्रणमा रहेको विश्वविद्यालयको जमिन अहिलेसम्म फिर्ता हुन सकेको छैन ।
विश्वविद्यालयको स्वामित्वमा रहेको १६ सय ६२ बिघा जग्गाजमिनमध्ये विश्वविद्यालय स्थापनार्थ दाताहरूले दान गरेको १३ सय ३६ बिघा जग्गा अरूकै कब्जामा रहेको छ । राजनीतिक आडमा केही व्यक्तिको नियन्त्रणमा रहेको भनिएको जग्गा २५ वर्षदेखि सुकुम्बासी देखाएर हुकुमवासीको रजगज रहेको विश्वविद्यालयले जनाएको छ ।
तर राजस्व भने नियमित रूपमा तिरिरहेको विश्वविद्यालयले जनाएको छ । २०५८ सालदेखि अहिलेसम्म विश्वविद्यालयले आफ्नो जग्गा उपभोग गर्न सकेको छैन । विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीले स्वामित्व विश्वविद्यालयको भएपनि उपयोग अरुले गरिरहेको बताउनुभयो ।
तत्कालीन माओवादीले थालेको सशस्त्र युद्धको समयमा २०५८ सालमा विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको गढवा गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकामा रहेका तत्कालीन गाविसहरू गोबरडिया, राजपुर, सतबरिया, बेला, गंगापरसपुरका विभिन्न स्थानमा रहेको १३ सय ३६ बिघा जग्गा विश्वविद्यालयबाट कब्जा गरिएको थियो ।
त्यसरी कब्जा भएको जग्गा अहिलेसम्म पनि विश्वविद्यालयले आफ्नो सम्पत्ति आफैंले उपभोग गर्न पाएको छैन।















