प्युठान । भालुवाङ–प्युठान सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । प्युठानको सरुमारानी गाउँपालिका–४ स्थित खहरे खोलामा पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार आज बिहान करिब ५ बजेतिर परेको वर्षाका कारण माथिबाट माटो र ढुङ्गासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरू बीचमै रोकिएका छन् ।
पहिरोका कारण स्थानीयवासी र यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने सडक खुलाउने प्रयासका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्युठान प्रहरीले जनाएको छ । हाल पहिरो हटाउने काम सुरु गर्ने तयारी भइरहेको र मौसममा सुधार आएपछि सडक सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।















