२०८३ बैशाख २० गते आइतवार

लालपुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीमा पर्न सक्छन् : शंकर पोखरेल


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपुर्जा नभएका सबैलाई हटाइए ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालबाट यस्तो बताउनुभएको हो ।

यदि लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरियो भने करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा छ, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । यसले राज्यको अर्थतन्त्र र सामाजिक स्थायित्वमा गम्भीर असर पार्न सक्छ उहाँले भन्नुभएको छ ।

भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८ हजार ५०२ भूमिहीन सुकुम्बासी, १ लाख ८० हजार २९३ सुकुम्बासी तथा ९ लाख ३० हजार ७९० अव्यवस्थित बसोबासी गरी जम्मा १२ लाख ९ हजार ५८५ जनाले निवेदन दिएका छन् । यसबाहेक केही हजार वास्तविक भूमिहीन अझै बाहिर हुन सक्ने अनुमान रहेको उल्लेख गर्नुभएको छ ।

संसदले विगतमा यी समस्याको समाधानका लागि कानुनी व्यवस्था गरिसकेको उल्लेख गर्दै उहाँले ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीले बनाएका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति निम्त्याउने निश्चित रहेको लेख्नुभएको छ ।

यो संरचना भत्काउने विषय मात्र नभएर यो पहाडबाट शहरतर्फ बसाइँ सरेका नागरिकहरूको जीवन, रोजगारी र अस्तित्वसँग जोडिएको जटिल सामाजिक आर्थिक प्रश्न भएको उहाँको भनाइ छ ।

संवेदनशील विषयमा नीतिगत निर्णय लिनुअघि विद्यमान कानुन, तथ्यांक र जनजीवनको यथार्थलाई गहिरो रूपमा अध्ययन गर्नु अत्यावश्यक रहेको उहाँले बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस