तुलसीपुर । लायन्स क्लब अफ इशान तुलसीपुरको आयोजनामा तुलसीपुरभित्रका ४१ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । आज शनिबार तुलसीपुर–७ खर्चवामा खाद्यान्न वितरण गरिएको हो ।
घरमा खाद्यान्नको अभाव हुन नदिन तथा कुनै पनि परिवारमा खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले समस्यामा रहेका परिवारमा खाद्यान्न वितरण गरिएको क्लबले जनाएको छ ।
कल्वका अध्यक्ष दिपक केसीको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एनका पूर्व डिष्ट्रिक्ट गभर्न विनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्य एवम् तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीको विशिष्ट आतिथ्यतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले मानवीय सेवा नै सर्वोत्तम कार्य भएको बताउनुभयो । समाजमा रहेका विपन्न तथा आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै उहाँले सामाजिक सेवाका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
विशिष्ट अतिथि वडा अध्यक्ष जिसीले लायन्स क्लबले विगतदेखि नै विभिन्न समयमा सहकार्य गर्दै सामाजिक कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले संस्थासँग सहकार्य गर्दै व्यक्तिगत रूपमा समेत सामाजिक सेवामा साझेदार हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
यसैबीच, खाद्यान्न वितरण कार्यक्रमका अवसरमा विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ । यस वर्षको गभर्नर मेडलबाट दीपक केसी सम्मानित हुनुभएको छ । त्यस्तै, इन्टरनेसनल पिन मेडलबाट पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट चिफ प्रेमप्रकाश गिरी, क्लस्टर चिफ रमेश रेग्मी र जोन चेयरपर्सन सुनिल खनाल सम्मानित हुनुभएको छ ।
त्यसैगरी, वडा अध्यक्ष रामबहादुर जिसीलाई लायन्स पिनबाट सम्मान गरिएको छ भने संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंहलाई इन्टरनेसनल प्रेसिडेन्ट पिन तथा गभर्नर मेडलबाट सम्मान गरिएको छ ।
कार्यक्रममा सिनियर एक्जुकेटिभ चिफ ध्रुव गौतम, संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंह, पूर्व अध्यक्ष प्रेमप्रकाश गिरी, रमेश रेग्मीलगायतले मन्तव्य राख्नुभएको थियो । खाद्यान्न वितरण कार्यक्रमका संयोजक केशवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका सहसचिव मनिष भुषालले गर्नुभएको थियो ।



























