२०८३ कार्तिक १ गते शनिवार

आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुनुपर्दैन : रिजाल


दाङ। तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ ।

उहाँले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत वास्तविक विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष रिजालले निजी क्षेत्रबाट सञ्चालित भए पनि अस्पतालले नाफामुखी सेवामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।

‘आर्थिक रूपमा विपन्न वर्गका बिरामीलाई निःशुल्क उपचार गरिरहेका छौँ’ उहाँले भन्नुभयो–‘अस्पतालले निःशुल्क उपचारका साथै अन्य सामाजिक कार्यसमेत गर्दै आएको छ ।’

अध्यक्ष रिजालका अनुसार अस्पतालले गत वर्ष मात्रै करिब ७२ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्रदान गरेको छ । उहाँले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको दाबी गर्नुभयो ।

१०० शय्यामा सञ्चालित अस्पतालले तुलसीपुरमा सुरुवातदेखि नै १० शय्याको एनआईसीयू सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै उहाँले उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता कम गर्न अस्पताल प्रयासरत रहेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक जीवन भण्डारीले चिकित्सकले सरकारी वा निजीमध्ये कुनै एक स्वास्थ्य संस्थामा मात्रै काम गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । एउटै चिकित्सकले सरकारी र निजी दुवै अस्पतालमा काम गर्दा निजी अस्पतालले समेत विभिन्न आरोप र लाञ्छना खेप्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

चिकित्सकको कार्यसम्पादनलाई व्यवस्थित बनाउन र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा काम गर्ने व्यवस्थालाई स्पष्ट र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस