२०८३ कार्तिक १ गते शनिवार

सुविधा महिला कृषि सहकारीको दशौँ साधारण सभा : कृषि उत्पादन, बजारीकरण र किसानलाई प्राविधिक सेवा


तुलसीपुर । सुविधा महिला कृषि सहकारी संस्था लिमिटेडले कृषि उत्पादन वृद्धि, बजारीकरण, किसानलाई प्राविधिक सहयोग र महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।

तुलसीपुर उपमहानगरपालिका-७ नवलपुरमा रहेको संस्थाको १०औँ वार्षिक साधारणसभामा प्रस्तुत भावी नीति तथा योजनामा यस वर्षदेखि कृषि प्राविधिक (जेटीए) को व्यवस्था गर्ने योजना पनि समेटिएको छ।

संस्थाका अध्यक्ष अरुणा रानाको अध्यक्षतामा सम्पन्न साधारणसभामा उहाँले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थामा हाल ६ सय २८ जना सदस्य रहेका छन्। संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल बिक्रीवितरण र ट्याक्टर सेवासमेत सञ्चालन गर्दै आएको छ।

संस्थाले आगामी दिनमा कृषि उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकता दिँदै आफ्नै उत्पादनलाई ब्रान्डका रूपमा बजारमा लैजाने योजना बनाएको छ। किसानलाई आधुनिक कृषि प्रविधि र उपकरण प्रयोगमा प्रोत्साहन गर्ने, कृषि औजार किट सस्तो दरमा उपलब्ध गराउने तथा कृषि स्रोत केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेको छ।

त्यस्तै, सामूहिक खेतीलाई प्रोत्साहन गर्दै लसुन, प्याज, अदुवा जस्ता नगदेबाली र परम्परागत खेतीको प्रवर्द्धन गर्ने संस्थाको योजना छ। किसानलाई खेतीपातीसम्बन्धी प्राविधिक सल्लाह उपलब्ध गराउन यसै वर्षदेखि जेटीएको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

संस्थाले कृषि क्षेत्रसँगै पशुपालनलाई पनि प्राथमिकता दिने भएको छ। कुखुरा, हाँस, बाख्रालगायतका पशुपन्छीपालनका कार्यक्रममार्फत स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले सहकारी सामान्य अवस्थामा समेत नागरिकको जीवन सहज बनाउने माध्यम भएको बताउनुभयो।

उहाँले रासायनिक मल केन्द्र सरकारले पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्दा किसानले समस्या भोग्नुपरेको उल्लेख गर्दै जैविक मलको उत्पादन बढाउन र रासायनिक मलको प्रयोग घटाएर माटोको उर्वराशक्ति जोगाउनुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तुलसी थापाले सहकारीमार्फत तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले संस्थाले मल बिक्री गर्‍यो वा गरेन भन्ने विषयमा मात्रै केन्द्रित नभई साधारणसभाले दिएको म्यान्डेटअनुसार संस्था अघि बढेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो।

साधारणसभामा मुलपानी सामुदायिक वनका अध्यक्ष जितबहादुर थापा, जनश्रम माध्यमिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष हेमबहादुर थापा, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, संस्थाका सदस्यहरू चन्द्रकला राना, टीका न्यौपाने, कृष्टि वली, भानुभक्त आचार्य र यमलाल पार्धेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सचिव रानकला रोकाकाे स्वागत मन्तव्य मन्तवयबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सहसचिव सीता मल्लले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस