दाङ । बडादशैँको मुख्य दिन नजिकिँदै जाँदा दाङका बजार सुनसान बन्दै गएका छन् भने गाउँघरमा चहलपहल बढ्न थालेको छ । रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा सहरमा बस्दै आएका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि बजारको चहलपहल घट्दै गएको हो ।
यता गाउँघरमा भने आफन्तको आगमन, घरपरिवारको जमघट र दशैँको तयारीले रौनक थपिएको छ । दाङका प्रमुख व्यापारिक केन्द्र तुलसीपुर, घोराही, लमही र भालुवाङमा हिजोअस्तीको तुलनामा मानिसहरूको आवतजावत कम हुँदै गएको छ ।
सामान्य दिनमा किनमेल गर्ने ग्राहक, कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा विभिन्न कामका लागि बजार आउने मानिसहरूको भीडभाड रहने यी क्षेत्रमा अहिले चहलपहल घट्न थालेको छ ।
वर्षभरि काम र जिम्मेवारीका कारण परिवारबाट टाढा रहेका उनीहरूका लागि दशैँ आफन्तसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर पनि हो । लामो समयदेखि सुनसानजस्तै रहेका घरआँगनमा परिवारका सदस्य र आफन्तहरू जम्मा हुन थालेका छन् । घरको सरसफाइ, रङरोगन, लत्ताकपडा तथा खाद्यान्नको जोहो, पूजाआजा र टीकाको तयारीले गाउँघरमा दशैँको माहोल थपिँदै गएको छ ।


























