२०८३ कार्तिक १ गते शनिवार

चाडपर्वलाई शान्तिपूर्ण र मर्यादित रुपमा मनाउन दाङ प्रशासनको आग्रह


दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

कार्यालयले चाडपर्वका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न अनुरोध गरेको हो ।कार्यालयले आज एक सूचना जारी गर्दै चाडपर्वका बेला गैरकानुनी रूपमा चिठ्ठा, जुवातास, कुनै पनि प्रकारका बाजी वा सट्टेबाजीजन्य खेल नखेल्न र नखेलाउन आग्रह गरेको छ ।

त्यस्तै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तु बिक्री वितरण गर्ने लगायत उपभोक्ताको हितविपरीतका कार्य नगर्न पनि अनुरोध गरिएको छ ।

त्यसैगरी, मादक पदार्थ लगायत अन्य नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला, झैझगडाजस्ता गतिविधि गरी शान्ति सुरक्षामा असर पर्ने काम नगर्न प्रशासनले सचेत गराएको छ ।

जिल्ला सुरक्षा समितिको परामर्शमा स्थानीय सुरक्षा निकायले निर्धारण गरेबमोजिमको समयमा मात्र होटल व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरिएको छ । सवारी साधन प्रयोग गर्दा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा तोकिएको भाडादरभन्दा बढी भाडा नलिन प्रशासनले अनुरोध गरेको छ ।

त्यस्तै, पटका, आतसबाजीजस्ता भुइँचम्पा लगायतका प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न पनि जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस