दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले दरवन्दी अनुसारको प्रमुख प्रशासकिय अधिकृत पाएको छ । प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएसंगै तुलसीपुरले दरवन्दी अनुसारको हाकीम पाएको हो ।
चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ । उपमहानगरपालिकामा सहसचिवको दरवन्दी भए पनि नेताहरको पहुँचका कारण उनिहरु खटाएको ठाउँमा जाँदैन थिए ।
जसका कारण उपसचिवका भरमा काम चल्ने गरेको थियो । यसपटक भने नयाँ सरकार गठनसंगै उपसचिव केशव पार्धेलाई अनेत्र सरुवा गरेर उहाँको ठाउँमा सहसचिव पौडेललाई पठाएको हो । तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पार्धे गएको चैत्रमा पालिकामा हाजिर हुनुभएको थियो ।














