२०८३ बैशाख ५ गते शनिवार

हाम्रो पहुँच उत्कृष्ट सहकारीको रुपमा सम्मानित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई तुलसीपुर उपमहानगरपालिकाले सम्मान गरेको छ । उपमहानगरपालिकाले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा हाम्रो पहुँचलाई उत्कृष्ट कारोबार गरेको आधारमा सम्मान गरेको हो ।

लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्य र नगरप्रमुख टिकाराम खड्काले संस्थाका अध्यक्ष शुक्रराज भण्डारीलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले ११२ जनालाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरेको छ । सहकारीमा अहिले ५ हजार शेयर सदस्य छन् । सहकारीले शिक्षा, संचार, वित्तिय कारोबार, डेरी र पेट्रोलपम्पजस्ता क्षेत्रमा लगानी गरेको छ ।

सहकारीका अध्यक्ष भण्डारीले उपमहानगरपालिका परिवारप्रति हार्दिक आभार प्रकट गर्दै सहकारीलले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि कानुन बाधक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारले आवश्यक ऐन कानुन निर्माण गरी सहकारीलाई उत्पादनसंग जोड्नुपर्ने बताउनुभयो ।

उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीसहित विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । नगरले संस्थागतरुपमा सबैभन्दा धेरै कर बुझाउने भाग्य लक्ष्मी क्रसर उद्योग, व्यक्तिगतरुपमा धेरै कर बुझाउने ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, चालु आर्थिक वर्षको पहिलो करदाता लालमणी खनाल लगायतलाई सम्मान गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस