दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्ष नपुग्दै भत्किने कालोपत्रे सडकको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनु भएको छ । प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
मुख्यमन्त्री आचार्यले तराई र पहाडका भौगोलिक अवस्थाअनुसार फरक विकास मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो । पहाडी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थानमा बेलिब्रिज निर्माण गरेर कम खर्चमा बढी उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिनुभयो ।
उहाँले आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायीबाट प्रभावित नभई कानुन र मापदण्डअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचारप्रसारसमेत आवश्यक रहेको उल्लेख गर्दै २०७४ सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सभाबाट स्वीकृत विनियोजन ऐन, बजेट कार्यान्वयन मार्गदर्शन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना आयोजना धेरै बनाउने प्रवृत्ति अन्त्य गरी आयोजना संख्या घटाउने र बजेटको आकार बढाएर प्रभावकारी आयोजना कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेशको सडक गुरुयोजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबै आयोजनालाई आयोजना बैंकमा प्रविष्ट गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । बहुवर्षीय आयोजनालाई समेत स्पष्ट प्राथमिकतासहित अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले विकास आयोजनाको प्रगति प्रत्येक तीन महिनामा समीक्षा गरिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नियमित समीक्षा र अनुगमनबाट आयोजनाको गुणस्तर तथा समयमै सम्पन्न हुने अवस्था सुनिश्चित गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका अधिकारी, विभिन्न निकायका प्रमुख तथा सरोकारवालाले आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न भएका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका लागि गुणस्तरीय, दिगो र परिणाममुखी पूर्वाधार विकासमा जोड दिएका थिए ।
आयोजना बैंकलाई प्रभावकारी बनाउँदै योजना छनोट, कार्यान्वयन र अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्झौतामा तोकिएको समयभन्दा अगाडि सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।
शारदा निर्माण सेवा प्राली तुलसीपुरका जय बहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका राजविर घर्तीमगर, जय बागेश्वरी–बर्दिया व्ल्याक–बक खुमचन्द्र जे.भिका सन्तोष केसी, एसियाटिक–लुम्बिनी जे.भी बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी–ओमकार–ओम जेभि रुपन्देहीका विजय लोधलाई सम्मान गरिएको हो ।
यस्तै श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठलाई सम्मान गरिएको हो । भगवती (अलकापुरी) आरएजेभी तिलोत्तमाका चित्रबहादुर श्रेष्ठ, राजेश्वरी कन्स्ट्रक्सन प्राली गुल्मीका भागवत गिरी, पिएसिएल लाइनियर जेभि बुटवलका ऋषिराम अधिकारीलाई सम्मान गरिएको हो ।















