दाङ । दाङको तुलसीपुरमा सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा सल्यान बागचौर नगरपालिका वडा नं. २ निवासी २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन् ।
यसरी भयो पक्राउ
गत वैशाख १ गते दिउँसो अन्दाजी १७:१५ बजेको समयमा सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बेचबिखन भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट नक्कली छाप र विभिन्न सवारी दर्ता किताबहरू बरामद भएपछि प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो।
बरामद गरिएका सामग्रीहरूमा बा.प्र.०२-०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब – १ थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेत लेखिएको डिजिटल छाप – १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब – १ थान, बागमती प्रदेश ०२-०४५ प १७३० नम्बरको निलो रङ्गको यामाहा V3 मोटरसाइकल – १ थान रहेको छ ।
पक्राउ परेका तीनै जनालाई दाङ जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।



















