दाङ, २७ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर एकले एकसय बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाले आज बुधबार तुलसीपुर–१ कुमालगाँउको योगा भवनमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
वडा अध्यक्ष हुमाकान्त सापकोटाको अध्यक्षता तथा जेष्ठ नागरिक कमलापति बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा अध्यक्ष सापकोटाले जेष्ठ नागरिकहरू ज्ञान र संस्कृतिका धरोहर भएकाले सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । यस्तो खालको सम्मानले समाजमा पारिवारिक र सामाजिक सद्भाव बढाउने र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई वडाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ८० वर्ष माथिका गैर दलित र ७० वर्ष भन्दा माथीका दलित गरी एकसय एक जना जेष्ठ नागरिकलाई सम्मान गरीएको हो ।
कार्यक्रममा जेष्ठ नागरीक शोभाराम कामीले वडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा आउन यातायातको सहायता लिनुपर्ने भएकोले जेष्ठ नागरिकहरुलाई यातायातको सुविधा उपलब्ध गराएका अझ सहज हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरु वडा भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेकोमा वडा कार्यालय र जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा वडा सदस्य शालिकराम खराल, नेपाली कांग्रेस वडा नंम्बर १ का इकाई सभापति निर्मल आचार्य, नेकपा एमाले वडा कमिटि अध्यक्ष टेकलाल आचार्य, नेकपा माओवादी वडा कमिटि अध्यक्ष डिल्लु न्यौपाने लगाएतकाले बोल्नुभएको हो ।
कार्यपालिका तथा वडा सदस्य गौरी नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव यमनारायण सापकोटा र सहायक कर्मचारी होमजंग विश्वकर्माले गर्नुभएको हो ।















