२०८३ कार्तिक १ गते शनिवार

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले भैँसी पाल्ने किसानलाई पाँच हजार अनुदान दिन शुरु


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले भैँसी पालक किसानलाई पाँच हजार अनुदान दिन शुरु गरेको छ । सहकारीले बिहिबार सात जना किसानलाई प्रतिकिसान ५ हजारका दरले अनुदान वितरण गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले हाम्रो पहुँच डेरी उद्योगमा भैँसीको दुधको बजारीकरणका लागि भैँसीपालक किसानलाई अनुदान दिने कार्यक्रम अघि सारिएको बताउनुभयो । तर भैँसीपालक किसानले दुध अनिवार्य हाम्रो पहुँच डेरी उद्योगमा बिक्रि गर्नुपर्ने बताउनुभयो । उहाँले भैँसी पाल्ने किसानलाई प्रोत्साहनका लागि प्रति भैँसी पाँच हजारका दरले अनुदान दिन शुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३/२०८४ मा ५० जना किसानलाई अनुदान वितरण गरिने योजना अनुसार बिहिबार सात जना किसानलाई अनुदान वितरण गरिएको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मज्गैँका कमला खड्का वली, तुलसीपुर–१७ बघौसीका निवासी निर्मला डाँगी, तुलसीपुर–१७ मज्गैँका दुर्गा वलीलाई अनुदान वितरण गरेको छ ।

यस्तै तुलसीपुर–६ गाइडहर निवासी लिलाधर खत्री, तुलसीपुर–९ शिवपुर निवासी कर्ण बहादुर डाँगी, तुलसीपुर–१६ रावतगाउँ निवासी डिल्ली बहादुर वली र तुलसीपुर–१७ निवासी निमबहादुर डाँगीले अनुदान प्राप्त गर्नुभएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले संस्थाले भैँसी पालन गर्ने किसानलाई कर्जा समेत प्रदान गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीले कर्जा प्रवाह गर्दा सेवाशुल्क समेत नलिने र सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने बताउनुभयो ।

हाम्रो पहुँच डेरी उद्योग संचालन उपसमितिका संयोजक गोविन्दराज भण्डारीको अध्यक्षतामा अनुदान वितरण कार्यक्रम गरिएको हो । संयोजक भण्डारीले किसानलाई दुधको गुणस्तर सुधारमा जोड दिनुभयो ।

उहाँले केहि किसानको कारणले डेरी उद्योगले ठुलो क्षति बेहोर्नुपर्ने भएकाले पशु बिरामी परेका बेला र बकेर्नोको बेला डेरी दुध नल्याउन आग्रह गर्नुभयो ।

अनुदान वितरण कार्यक्रममा किसानहरुले पशुको आहारा बढेको तथा दुधको मूल्य वृद्धि नभएको बताएका छन् । उनिहरुले दुधको मूल्य बिक्रिका लागि सामुहिक एकतामा जोड दिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस