२०८३ कार्तिक ८ गते आइतवार

हाम्रो पहुँच सहकारीको साधारणसभामा झण्डै पाँचसय जनाको निःशुल्क आँखा जाँच


दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभाको अवसरमा राप्ती आँखा अस्पतालले निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत शनिबार र आइतबार गरी दुई दिनमा ४ सय ८६ जनाले आँखा जाँच गराएका छन् ।

अस्पतालका नेत्र सहायक सपना गौतमका अनुसार शनिबार पहिलो दिन २ सय ३१ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये ७२ जना पुरुष र १ सय ५९ जना महिला रहेका थिए । जाँच गराएका मध्ये १० जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै आज आइतबार तुलसीपुरस्थित गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा सञ्चालन गरिएको शिविरमा २ सय ५५ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये १ सय ८२ जना महिला र ७३ जना पुरुष रहेका छन् ।

आज आँखा जाँच गराएका मध्ये चार जनामा मोतिबिन्दुको समस्या देखिएको नेत्र सहायक गौतमले जानकारी दिनुभयो । मोतिबिन्दुको समस्या देखिएका व्यक्तिलाई थप जाँचका लागि अस्पतालमा आउन सुझाव दिइएको उहाँले बताउनुभयो ।

जाँच गराएका अन्य व्यक्तिमा दृष्टिदोष, आँखामा मासु पलाउने तथा उमेरअनुसार नजिकको वस्तु देख्न समस्या हुनेजस्ता समस्या देखिएको उहाँले जानकारी दिनुभयो । सामान्य समस्या देखिएका व्यक्तिलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस