२०८२ जेष्ठ ८ गते बिहिवार

नयाँ वर्षको आगमनसँगै पर्यटकीयस्थलमा चहलपहल


दाङ । नयाँ वर्ष २०८२ सालको आगमनसँगै प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको उल्लेखनीय चहलपहल बढ्न थालेको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित राप्ती शान्ति उद्यानमा नयाँ वर्षको पहिलो दिन बैशाख १ गते आन्तरिक पर्यटकको भीड अत्याधिक रह्यो ।

परिवारका साथ घुम्न आएका सर्वसाधारणदेखि युवायुवती तथा विद्यार्थी समूहसम्म उद्यानको रमणीयतामा रमाएको उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । बैशाख १ गते भिडभाड अत्याधिक भएपनि सहज वातावरणमै उद्यानमा प्रवेश गर्न पाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

उद्यानमा नयाँ वर्षको पहिलो दिनमा १५ हजार बढीले अवलोकन गरेका छन् । उद्यानमा गतवर्षको तुलनामा यसवर्ष नयाँ वर्षको दिन २ हजार बढीले अवलोकन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । गतवर्ष नयाँ वर्षको पहिलो दिन १३ हजारले अवलोकन गरेका थिए ।

उद्यानमा पछिल्लो समय पोखरीमा डुंगा चढ्ने, चिडियाखाना अवलोकन गर्ने थप सुविधा भएपछि पर्यटकको चहलपहल झन् बढ्दै गएको हो । अहिले पनि उद्यानमा दैनिक ५ सय बढीले अवलोकन गर्ने गरेका छन् ।

उद्यानको हरियाली, शान्त वातावरणमा रमाउन पाउन पाउनु यहाँ आउनेहरूको आकर्षणको प्रमुख कारण बनेको छ । यस्तै, पछिल्लो समय तुलसीपुर–११ मा रहेको मोतिपुर पर्यटकिय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा नयाँ वर्षको दिन विशेष उत्सव झैँ माहोल देखिएको थियो । बबई नदिमा डुंगामा शयरसंगै झोलुंगेपुलबाट फोटो भिडियो बनाउनेको भिड अत्याधिक रहेको डुंगा संचालक उमेश डाँगीले बताउनुभयो ।

दाङको अर्को प्रमुख बजार घोराही नजिकै रहेको धारापानी क्षेत्र, बाह्रकुने दह र आसपासका रमणीय स्थलहरूमा पनि आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ ।

सोमबार बिहानैदेखि धारापानीमा लाइन रहेको थियो भने बाह्रकुने दहमा डुंगा सयर, पिकनिक तथा समूहगत भ्रमणका दृश्यले रमाइलो वातावरण बनाएको थियो ।

दाङसँग सीमा जोडिएको रोल्पा र सल्यानका प्रसिद्ध स्थलहरूमा पनि पर्यटकहरूको भीड देखिएको छ । रोल्पाको रुण्टीगढी, थवाङ, जलजला, लगायतका स्थानमा घुम्न आउनेहरू बढेका छन् भने सल्यानको कुपिण्डे ताल, छत्रेश्वरी क्षेत्र लगायतका स्थलमा पनि घुमफिर गर्नेहरूको संख्या उल्लेख्य रहेको छ ।

नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन भएको स्थानीय व्यवसायीहरू बताउँछन् । पर्यटनसँग जोडिएका होटल, रेष्टुराँ, व्यवसायहरु समेत सन्तुष्ट देखिए । यस्ता गतिविधिहरूले केवल आर्थिक लाभ मात्र होइन, स्थानीय कला, संस्कृति र प्रकृतिप्रतिको जनचासो बढाउन मद्दत पुगेको होटल व्यवसायी तुफान केसीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस