२०८२ जेष्ठ ८ गते बिहिवार

लोकतन्त्र र मानव अधिकारको संरक्षणमा जोड


दाङ। मानव अधिकार तथा शान्ति समाज, दाङ शाखाले तुलसीपुरमा ‘नागरिक सम्वाद कार्यक्रम’ गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरूले लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा अधिकारकर्मी निर्मल नेपालीले कुशासन र भ्रष्टाचारले लोकतन्त्रको आयु घटाउने बताउनुभयो । उहाँले अवधारणापत्र प्रस्तुत गर्दै नागरिकको आक्रोश चुलिदै गएकाले प्रतिगमनले टाउको उठाउने मौका पाउन थालेको बताउनुभयो ।

यस्तै महिला अधिकारकर्मी शुष्मा गिरीले सुशासन संस्थागत नहुँदासम्म नागरिक अधिकार स्थापित हुन नसक्ने बताउनुभयो । उहाँले विभेद अन्त्य गरेर सामाजिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका नवराज लामिछानेले युवाहरू अधिकारप्रति सचेत हुन जरुरी रहेको र सकारात्मक कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र, शान्ति र विकास सँगसँगै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्यले वर्तमान सरकार, दल तथा नागरिक समाजबीच पारदर्शिता र जवाफदेहिताको अभावले लोकतन्त्र जोखिममा परेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार बालाराम खड्का, दिप्तीशिखा चौधरी, दीपक बोहरा, निरला आर्यलले लोकतन्त्र कमजोर हुँदा मानव अधिकारमाथि आक्रमण हुने बताउँदै, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित भइरहेको टिप्पणी गर्नुभयो ।

मानव अधिकारकर्मी देवा डाँगीले लोकतन्त्र भनेको कानुन निर्माण र प्रेस स्वतन्त्रताको संयोजन भएको भन्दै, प्रेसमाथि भइरहेको आक्रमणले लोकतान्त्रिक मूल्यमा क्षति पुर्‍याएको बताउनुभयो ।

मानवअधिकारकर्मी तुलसीराम सुनारले दण्डहीनता हटाएर सुशासन संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य संयन्त्रले जनतालाई दिने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै गिरीराज अधिकारीले वर्तमान राजनीतिक दलहरू भ्रष्टाचारबाट मुक्त हुन नसकेकाले सुशासन कायम हुन नसकेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र खड्काले ठूला राजनीतिक दलहरू नै भ्रष्टाचारको केन्द्रबिन्दु भएको भन्दै सामाजिक विघटन र नागरिक अधिकार हननमा तिनको भूमिका रहेको बताउनुभयो । मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस