
दाङ । पर्यटन प्रवद्र्धनका माध्यमबाट कुलपानी सामुदायिक वन उपभोक्ता समूहले एक वर्षको अवधिमा दश लाख बढी आम्दानी गरेको छ । गढवा गाउँपालिका–१ बडहरामा रहेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको सामुदायिक वन समूहको पर्यापर्यटन विकास तथा वन संरक्षण सम्वद्र्धन र सदुपयोगमा समूहले गरेका अभ्यासका बारेमा पत्रकार महासंघ दाङ शाखासँगको अन्तरक्रिया कार्यक्रममा वन समूहले एक वर्षको अवधिमा दश लाख ८० हजार चार सय ५६ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी गराइएको हो ।
पार्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट पाँच लाख ११ हजार, पार्कमा फोटो खिन्ने क्यामेराहरुबाट एक लाख २८ हजार, ढुंगा सञ्चालनबाट एक लाख २३ हजार, पिकनिकका लागि भाडा प्रयोगबाट ८० हजार गरि दश लाख ८० हजार चार सय ५६ रुपैयाँ आम्दानी भएको वन समूहका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । वन संरक्षणसँगै सिमसार क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडेर विकास गरिएको छ । पछिल्लो समय कुलपानी आन्तरिक तथा बाह्य पर्यटनका लागि घुमफिर गर्ने गन्तव्यका रुपमा विकास भएको वन समूहका अध्यक्ष शर्माले बताउनुभयो ।
वन समूहका अध्यक्ष शर्माले पार्कलाई व्यवस्थीत गर्दै थप आकर्षक बनाउनको लागि उक्त क्षेत्रमा काठबाट बनेका सामग्रीहरुसहितको संग्राहलय बनाउने तयारी रहेको बताउनुभयो । वनलाई आयआर्जनसँग जोड्नका लागि फलफुलका विरुवाहरुदेखि पात पतिङगर संकलन गरि प्राङ्गारिक मल उत्पादन गर्ने, कुलपानी हरितपार्क तथा धार्मिक पर्यापर्यटन क्षेत्र करिव २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने, जैविक विविधताको संरक्षण गर्दै समुदायले नै वन क्षेत्रभित्र मिनी चिडियाखाना निर्माण गर्ने र जंगली जनावर संरक्षण गर्ने गरि योजना बनाइएको जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वन समूहअन्तर्गत कुलपानी सामुदायिक वन समुहले वन क्षेत्रको संरक्षणसँगै पर्यापर्यटनका माध्मबाट राम्रो आयआर्जन गरेर जिल्लामा नमूना काम गरेको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले सामुदायिक वनहरुमध्ये कुलपानी सामुदायिक वन उपभोक्ता समूहले नमूना काम गरेका कारण जिल्लामा अन्य वन समूहभन्दा फरक हुन सफल भएको बताउनुभयो । वन क्षेत्र संरक्षण र विकासका लागि जिल्लामा धेरै सामुदायिक वन समूहहरु गठन भएको र तिमध्ये केही सामुदायिक वनले वन क्षेत्र संरक्षणसँगै पर्यटनसँग जोडेर नमूना अभ्यास गरेको उहाँको भनाई छ । नमूना काम गर्ने सामुदायिक वनसँगै अन्य संघसस्था, समूहहरुसँग पत्रकार महासंघ जोडिएर राम्रा कामको प्रचारप्रसारमा सहयोग गर्ने बताउनुभयो ।
वन समूहका अध्यक्ष शर्माको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका सस्थापक नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्तालगायतले मन्तव्य व्यक्त गर्नुभएको हो ।