२०८२ मङ्सिर ३ गते बुधवार

प्रतिबन्धित माछा बिक्रि गरेको भेटिएपछि न्यू रोल्पाली डाँगी स्टोरलाई स्पष्ट जवाफ पेश गर्न निर्देशन

दाङ। उत्पादन र उपभोग मिति नभएपछि बिक्रिमा प्रतिबन्ध लगाएको ओबिटी कम्पनिको ‘स्पाइसी इन्स्टन्ट फिस’ बिक्रि गरेको फेला परेपछि तुलसीपुर–५ को न्यू रोल्पाली डाँगी स्टोरका संचालकलाई तीन दिनभित्र स्पष्ट जवाफसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरमा उपस्थित हुन निर्देशन जारी गरिएको छ ।

कार्यालयका सूचना अधिकारी विवेक कुमार सुबेदीले कैफियत भेटिएको स्पाइसी प्याकिङ माछा तत्काल बिक्रि नगर्न निर्देशन दिँदा पनि बजारमा खुलेआम बिक्रि वितरण गरेको भेटिएकाले स्टोर संचालक लाल बहादुर डाँगीलाई स्पष्ट जवाफको पत्रसहित कार्यालयमा हाजिर हुन निर्देशन दिनुभएको हो ।

मंगलबार तुलसीपुरमा गरिएको बजार अनुगमनको क्रममा उक्त स्पाइसी माछा न्यू रोल्पाली डाँगी स्टोरले बिक्रि गरेको फेला परेको हो । बिक्रिमा रोक लगाएको माछा बजारमा बिक्रि गरेको फेला परेपछि स्टोरमै पुगेर तत्काल स्पष्ट जवाफसहित कार्यालयमा हाजिर हुन सूचना अधिकारी सुवेदीले निर्देशन दिनुभएको हो ।

सूचना अधिकारी सुवेदीले यसअघि माछाको नमुनामा कैफियत भेटिएकाले तत्काल बिक्रि बितरण नगर्न निर्देशन दिनुभएको थियो । तर निर्देशनको पालना नगरी बिक्रि गरेको फेला परेको हो । कार्यालयले यसअघि स्टोर संचालकलाई दुई पटकसम्म पत्र लेखेर कार्यालयमा उपस्थित हुन भनेको थियो । स्टोर संचालक डाँगी कार्यालयमा जानुको सट्टा बिक्रि नगर्नु भनेको माछा बिक्रि गरेको फेला परेपछि तीनदिन भित्र उपस्थित हुन निर्देशन दिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस