तुलसीपुर । जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अबसरमा पुरोहितहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालय महिला बालबालिका तथा सामाजिक विकास शाखा आयोजना तथा फेडो दाङको सहकार्यमा भएको कार्यक्रमा धर्म गरु, दलित अधिकारकर्मी, जनप्रतिनिधि, शिक्षक, प्रहरी लगायतको उपस्थितिमा छुवाछुतको बारेमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले जातकै आधारमा दलितहरु अपमानित भएको, आफ्नो ज्यान गुमाउनु परेको, बलत्कारको अपराध खेप्न परेको, सामाजिक रुपमा बहिस्कृत भएको, मन परेका व्यक्तिसंग विबहा गर्न नपाएका थुप्रै कुराले जातिय विभेद अझै कायम रहेको बताएका छन् ।
त्यसअवसरमा नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापिठका उपप्राध्यापक महेन्द्र भण्डारीले बैदिक तथा पौराणिक ग्रन्थमा छुवाछुत प्रथा नभएको बताउनुभयो । उहाँले धार्मिक ग्रन्थ, बेदमा पनि विभेद गर्न नहुने र सबैलाई समान व्यबहार गर्ने कुरा उल्लेख गर्दै जातिय विभेद मानीसले नै सिर्जना गरेको विभेद भएको बताउनुभयो ।
यसैगरी कानुनी अधिबकता मोहन धिताल सबै किसिमका विभेद अन्त्य गर्नका लागि कानुन बनेपनि ब्यबहारमा लागु नभएको बताउनुभयो । कानुनमा जातिय विभेद गरेमा हुने सजाय, जरीवाना लगायत बिभिन्न कुरा लेखिएपनि दलितहरुको मौलिक अधिकार अहिलेपनि विभेदमै परेको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेश सभाका सांसद रेखा शर्माले समाजमा भएको जातिय र वर्गीय विभेदलाई अन्त्य गरी समृद्ध समाज निर्माण गर्नुपर्ने बताउनु भएको छ । उहाँले पुरोहितहरु समाजका अगुवा तथा मार्गदर्शक भएकाले समाज परिवर्तनमा उनिहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमख टिकारम खड्का, मानव अधिकारकर्मी निर्मल नेपाली, दंगिशरण गाउँपालिका कार्यपालिका सदस्य सितारा नेपाली लगायतले छुवाछुत र जातिय भेदभाव विरुद्ध दलित र गैर दलित समुदाय मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
यस्तै पण्डितहरुले जातिय विभेदलाई अन्त्य गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सांसद रेखा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
दलित महिला संघ दाङका अध्यक्ष यूवा कराराको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नु भएको हो ।















