२०८३ मङ्सिर ७ गते सोमवार

भमकेका डेरी तथा किराना पसलमा छड्के : म्याद गुज्रिएका वस्तु जफत गरी नष्ट

दाङ । बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण रोक्न तुलसीपुर उपमहानगरपालिकाले गाउँका पसलहरूमा समेत अनुगमन तीव्र पारेको छ ।

सोमबारमात्रै तुलसीपुर उपमहानगरपालिका–१ भमेकका डेरी, किराना तथा होटलमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ फेला परेका छन् ।

अनुगमनका क्रममा केही डेरी तथा किराना पसलमा कोक, स्प्राइट, बिस्कुटलगायतका म्याद गुज्रिएका सामग्री भेटिएपछि जफत गरी नष्ट गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने यस्ता वस्तुको बिक्रीवितरण रोक्न अनुगमनलाई गाउँस्तरसम्म विस्तार गरिएको उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

प्रमुख श्रेष्ठले बजार अनुगमन अब सहरमा मात्र सीमित नराखी गाउँ–गाउँसम्म विस्तार गरिएको बताउनुभयो । भमेकका केही पसलमा म्याद गुज्रिएका सामग्री भेटिए पनि अधिकांश पसलको अवस्था सन्तोषजनक रहेको उहाँले जानकारी दिनुभयो ।

शाखा प्रमुख श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासहितको टोलीले भमेकका २१ वटा पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश व्यवसाय नगरपालिकामा दर्ता नभएकोसमेत पाइएको छ । दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायीलाई तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

वडा नम्बर १ का अध्यक्ष हुमकान्त सापकोटाले बजार अनुगमनलाई नियमित बनाइने बताउनुभयो । अनुगमनको उद्देश्य व्यवसायीलाई हतोत्साहित गर्नु नभई उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन, व्यवसायीलाई जिम्मेवार र सचेत बनाउनु रहेको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले डेरी व्यवसायीलाई दूध भण्डारण तथा बिक्रीवितरण गर्दा प्लास्टिकका भाँडा प्रयोग नगर्न निर्देशन दिनुभएको छ । पहिलोपटक भएकाले सचेत मात्र गराइएको भन्दै उहाँले आगामी दिनमा निर्देशन पालना नभए कारबाही गरिने चेतावनी दिनुभयो ।

त्यस्तै, वडा सचिव होमजंग विश्वकर्माले नगरपालिकामा दर्ता तथा नवीकरण नभएका व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो ।

अनुगमनमा वडा अध्यक्ष सापकोटा, वडा सचिव विश्वकर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बराल, खाद्य निरीक्षक सुदर्शन गोसाईं, उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर केसी, नगर प्रहरी नायब निरीक्षक ऋषिराज पछाई, उपभोक्ता हित संरक्षण शाखाका वरिष्ठ प्रशासन सहायक खेमकान्त पाण्डेलगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस