तुलसीपुर। तीन हजार रुपैयाँमा पुरानो मोबाइल खरिद गरेर प्रयोग गर्दा चोरीको मुद्दामा पक्राउ परेकी दाङकी आशा बेलबासे ५० हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएकी छन् ।
तुलसीपुर उपमहानगरपालिका-७ घुसरी घर भई हाल बाँकेको कोहलपुरमा कोठाभाडामा बस्दै आएकी ४५ वर्षीया बेलबासेले आफन्तबाट तीन हजार रुपैयाँमा पुरानो मोबाइल खरिद गरेकी थिइन् । बेलवासेका अनुसार मोबाइल खरिद गरेपछि उनले आफ्नै नागरिकता प्रयोग गरी सिमकार्ड निकालेर प्रयोग गर्न थालेकी थिइन् ।
मोबाइल प्रयोग गरेको केही समयपछि उक्त मोबाइल चोरीको भएको थाहा पाएपछि उनीविरुद्ध चोरीसम्बन्धी मुद्दाको प्रक्रिया अघि बढेको थियो । गत भदौ २० गते पक्राउ परेकी बेलबासेलाई जिल्ला अदालत दाङले ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएकी थिइन् ।गत असोज ९ गतेदेखि तुलसीपुर कारागारमा रहेकी बेलबासेले धरौटी रकम जुटाउन नसक्दा २ वर्ष कारागारमा बस्नुपर्ने अवस्था आयाे । दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी उनी कोठाभाडामा बस्ने र परिवारमा साना बालबालिकासमेत रहेकाले धरौटी रकम जुटाउन असमर्थ भइन् ।
बेलबासेको अवस्थाबारे जानकारी पाएपछि स्थानीय समाजसेवी टोपबहादुर महतराले विभिन्न क्षेत्रमा सहयोगका लागि पहल गरेका थिए । सोही क्रममा नेपाल बन्दी सेवा सङ्घका अध्यक्ष जय देउलाले धरौटीबापतको रकम उपलब्ध गराएर सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उनिमा केही आशा जागेकाे थियाे ।
त्यसैअनुसार समाजसेवी महतराले सोमबार बिहान वेल्वासेकाे रिहाका लागि अभिभावकत्व ग्रहण गरी ५० हजार रुपैयाँ धरौटी रकम बुझाएपछि जिल्ला अदालत दाङले बेलबासेलाई सोमबार नै रिहा गरेको हो ।
रिहा भएपछि प्रतिक्रिया दिँदै बेलबासेले सस्तो मूल्यमा मोबाइल पाए भन्दैमा माेवाइल सामग्री खरिद गर्दा सावधानी अपनाउन सबैलाई आग्रह गरेकी छन् । आफन्तकै विश्वासमा मोबाइल खरिद गर्दा यस्तो अवस्था भोग्नुपरेको बताउँदै उनले आफन्त वा अन्य व्यक्तिबाट सस्तो मूल्यमा सामान पाउँदैमा त्यसको स्रोत नबुझी खरिद नगर्न सुझाव दिइन् ।
धरौटी रकम जुटाउन नसक्दा कारागारमा बस्नुपरेको अनुभव सुनाउँदै उनले आफूलाई सहयोग गर्ने नेपाल बन्दी सेवा सङ्घका अध्यक्ष जय देउला र समाजसेवी टोपबहादुर महतराप्रति धन्यवाद व्यक्त गरेकी छन् । समाजसेवी महतराले यस अघि पनि विभिन्न क्षेत्रमा यस्तै समस्यामा रहेका कैदीबन्दीहरूलाई सहयोग गर्दै आएका छन्।


























