२०८३ मङ्सिर ६ गते आइतवार

सहकारीको कर्जाले व्यवसाय विस्तार


तुलसीपुर । विदेश गएर भविष्य खोज्ने युवाहरूको सङ्ख्या बढिरहेका बेला दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ३९ वर्षीय मन्जित खत्रीले भने आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोज्नुभएको छ ।

राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गर्नुभएका र कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न परियोजनामा करिब १० वर्ष काम गरेको अनुभव बटुल्नुभएका खत्री अहिले पशुपालन व्यवसायमार्फत आफ्नो भविष्य निर्माणमा जुट्नुभएको छ ।

एक लाख रुपैयाँ लगानी गरेर एउटा गाई र एउटा भैँसीबाट सुरु गर्नुभएको उहाँको व्यवसाय अहिले पाँचवटा गाईभैँसीसम्म विस्तार भएको छ । दूध बिक्रीबाट मासिक करिब ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका खत्री मेहनत र लगनशीलता भए स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

कृषिसम्बन्धी परियोजनामा काम गर्दा प्राप्त गरेको अनुभवलाई आफ्नै व्यवसायमा उपयोग गर्ने र आत्मनिर्भर बन्ने सोचले उहाँ पशुपालनतर्फ आकर्षित हुनुभएको हो । सुरुमा अनुभवका लागि व्यवसाय थाल्नुभएका खत्रीले क्रमशः लगानी बढाउँदै लैजानुभएको छ ।

पशुपालनका लागि उहाँले पाँचदेखि छ लाख रुपैयाँ लगानी गरेर गोठसमेत निर्माण गर्नुभएको छ । गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि आफ्नै छ कट्ठा जग्गामा घाँस खेती गर्दै आउनुभएको छ । आगामी दिनमा पशुको सङ्ख्या बढ्ने र घाँसको आवश्यकता पनि बढ्ने भएकाले हिउँदमा थप पाँचदेखि छ कट्ठा जग्गा भाडामा लिएर घाँस खेती गर्ने उहाँको योजना छ ।

खत्रीको परिवारमा सात जना सदस्य हुनुहुन्छ । पारिवारिक जिम्मेवारीसँगै व्यवसायलाई अगाडि बढाउन उहाँ र उहाँकी श्रीमती दैनिक बिहान ४ बजेदेखि नै काममा खटिनुहुन्छ । बिहान ४ देखि ७ बजेसम्म गोठ सफा गर्ने, गाईभैँसीलाई दानापानी खुवाउने र त्यसपछि घाँस तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने उहाँहरूको दैनिक दिनचर्या बनेको छ ।

हाम्रो पहुँच डेरीले दूध बिक्रीमा सहज
पशुपालन सुरु गरेपछि खत्रीले दूध बिक्रीमा समस्या भोग्नुपरेको थियो । सुरुमा दूध कहाँ लगेर बिक्री गर्ने भन्ने जानकारी नहुँदा गाउँमै दूध बेच्ने गर्नुभएको थियो । तर गाउँमा दूध बिक्री गर्दा कतिपय अवस्थामा समयमै भुक्तानी नपाउने, घरघर पुग्नुपर्ने समस्या थियो ।

तर पछि हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिएपछि भने दूध बिक्री गर्न सहज भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँ दैनिक बिहान करिब ६ बजे हाम्रो पहुँच डेरी उद्योगमा पुगेर दूध बिक्री गर्नुहुन्छ । डेरीमा दूध बिक्री गरेबापतको रकम सिधै खातामा जम्मा हुने भएकाले आर्थिक कारोबार सहज भएको उहाँको भनाइ छ ।

‘हातमा पैसा लिनुभन्दा खातामा जम्मा हुँदा बचत गर्ने बानीको पनि विकास हुन्छ ।’ उहाँ भन्नुहुन्छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले किसानले उत्पादन गरेको दूधको बजारीकरणका लागि डेरी उद्योग सञ्चालन गरेपछि स्थानीय किसानलाई दूध बिक्री गर्न सहज भएको छ । यसले पशुपालन तथा दूध उत्पादनमा लाग्न चाहने किसानलाई समेत प्रोत्साहन मिलेको छ ।

सहकारीको कर्जाले व्यवसाय विस्तार

पशुपालन व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले खत्रीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिनुभएको छ । बैंकबाट कर्जा लिन विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सहकारीबाट कर्जा लिन आफूलाई सहज भएको उहाँ बताउनुहुन्छ । गाउँघरमा अन्य स्रोतबाट ऋण लिँदा ब्याज बढी पर्ने भएकाले सहकारीमार्फत ऋण लिनु उपयुक्त लागेको उहाँको भनाइ छ ।

सहकारीबाट सहज रूपमा ऋण प्राप्त हुँदा व्यवसाय विस्तारमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ । आगामी दिनमा पशुपालन व्यवसायलाई अझ व्यवस्थित बनाउँदै ३० देखि ३५ वटासम्म गाईभैँसी पाल्ने उहाँको लक्ष्य छ ।

खत्रीले ‘चित्रीपाटन हर्बल एग्रोफर्म प्रणाली’ नामक कम्पनीसमेत दर्ता गरिसक्नुभएको छ । आफ्नै जग्गामा घाँस खेती, डेरी उद्योगमार्फत दूधको बजारीकरण र सहकारीबाट प्राप्त ऋणको सदुपयोग गर्दै उहाँ व्यवसाय विस्तारको योजनामा अघि बढिरहनुभएको छ ।

राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरी कृषि क्षेत्रका विभिन्न परियोजनामा काम गरेको अनुभवलाई व्यावसायिक जीवनमा रूपान्तरण गर्नुभएका खत्रीले वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै उद्यम गर्ने बाटो रोज्नुभएको छ । परिवारसँगै बसेर आफ्नै देशमा मेहनत गरे पनि राम्रो आम्दानी गर्न सकिने उहाँको विश्वास छ ।

सानो लगानीबाट सुरु भएको पशुपालन व्यवसायलाई विस्तार गर्दै आत्मनिर्भर बन्ने प्रयासमा रहनुभएका खत्रीको यात्रा स्वदेशमै केही गर्न चाहने युवाका लागि प्रेरणादायी बनेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस