२०८२ फाल्गुन ३० गते शनिवार

‘विद्यालयबाट पाउने शिक्षा हो, छोराछोरीलाई घरमै संस्कार दिनुपर्छ’


दाङ । बालबालिकालाई संस्कारयुक्त र नैतिकवान बनाउनका लागि टोलटोलमा सचेतना अभियान संचालन भइरहेको छ । दाङ भ्याली मावि तुलसीपुरसंगको सहकार्यमा रेडियो हाम्रो पहुँचले कार्यक्रम सुनौलो भविष्यमार्फत टोल–टोलमा सचेतना अभियान संचालन गरेको छ । यसैक्रममा शुक्रबार तुलसीपुर–४ नेत्रज्योति टोल सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले विद्यालयले शिक्षा दिन सक्ने भए पनि संस्कार भने अभिभावकले घरमै दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको गलत प्रयोगबाट बचाउने, व्यवहारिक ज्ञान सिकाउने र निर्णय प्रक्रियामा सहभागी गराउने जस्ता अभ्यासले बालबालिकाको निर्णय क्षमता बढ्ने धारणा राख्नुभयो ।

उहाँले खेलमैदानको व्यवस्था गरी खेलकुदमा संलग्न गराउँदा उनीहरूमा सामाजिकता र आपसी सहयोगको भावना विकास हुने बताउनुभयो । कार्यक्रम सुनौलो भविष्यमार्फत अभिभावक र समाज दुवैलाई सक्रिय बनाउने र बालबालिकाको सुनौलो भविष्य निर्माण गरिने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा टोल विकास संस्थाका सचिव तुलसा खड्का, सावित्रा कुमारी गौतम लगायतले बालबालिकालाई घरमै दिएको संस्कारले उनीहरुको भविष्य सुन्दर हुने बताउनुभयो । टोल विकास संस्थाका अध्यक्ष रीता खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस