२०८३ कार्तिक ७ गते शनिवार

हाम्रो पहुँच सहकारीको २०औँ वार्षिक साधारणसभा आजदेखि सुरु


दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ । संस्थाले आज शनिबार तुलसीपुर उपमहानगरपालिका–७, झुमरेमा एक कार्यक्रमको आयोजना गरी साधारणसभाको उद्घाटन गरेको हो ।

आजदेखि सुरु भएको साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १३ बुँदे प्रस्तावमाथि छलफल सुरु भएको छ । साधारणसभा पाँच दिनसम्म सञ्चालन हुनेछ ।

साधारणसभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले सीमित स्रोतसाधन र पुँजीबाट सुरु भएको संस्थाले हालसम्म एक अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको बताउनुभयो ।

संस्थाले पाँचवटा ठूला व्यवसाय सञ्चालन गर्दै निश्चित उद्देश्य र लक्ष्यका साथ अगाडि बढिरहेको बताउँदै अध्यक्ष भण्डारीले संस्थाले ११८ जनालाई प्रत्यक्ष रोजगारी र एक हजारभन्दा बढीलाई स्वरोजगार प्रदान गरेको जानकारी दिनुभयो । उहाँले संस्थाको वासलात ४५ करोड रुपैयाँभन्दा बढी पुगेको बताउनुभयो ।

अध्यक्ष भण्डारीले संस्थाले पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरी आर्थिक वर्ष २०७६/०७७ देखि व्यवस्थित र क्रमबद्ध रूपमा संस्थाको वृद्धि, विकास र सफलताका कामलाई योजनाबद्ध ढङ्गले अगाडि बढाएको बताउनुभयो । दोस्रो पञ्चवर्षीय रणनीतिक योजना २०८१ देखि २०८६ अन्तर्गत दोस्रो वर्षका लागि तय गरिएका संस्थागत, व्यावसायिक तथा वित्तीय लक्ष्य उत्साहजनक रूपमा पूरा भएको उहाँको भनाइ छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले आर्थिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षका लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले आर्थिक वर्ष २०८२/०८३ मा चार करोड २२ लाख २२ हजार रुपैयाँ रहेको चुक्ता सेयर पुँजी चालु आर्थिक वर्षमा ६८ लाख ७८ हजार रुपैयाँले वृद्धि गरी चार करोड ९१ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ३० करोड दुई लाख ७२ हजार ६३६ रुपैयाँ ६६ पैसा रहेको बचत रकम चालु आर्थिक वर्षमा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल आम्दानी ७० करोड ४२ लाख ९१ हजार २८५ रुपैयाँ ८४ पैसा रहेकोमा चालु आर्थिक वर्ष २०८३/८४ मा ८७ करोड १० लाख ५६ हजार ३ सय रुपैंया आम्दानी गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । यो वर्षको खुद बचत १ करोड ९७ लाख ३३ हजार ५११ रुपैंया ३० पैसा रहेको बताउनुभयो ।

संस्थाका सचिव जीवराज अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाले सञ्चालन गरेका सबै विभागको प्रगति समीक्षा गर्नुभयो ।

यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाका विभिन्न विभागमा देखिएका राम्रा पक्ष र सुधार गर्नुपर्ने विषयबारे जानकारी गराउनुभयो ।

उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा ज्येष्ठ सदस्य ढुण्डीराज खनालले संस्थाले हालसम्म लक्षित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि संस्थाले तय गरेका लक्ष्य हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थाको पहिचान स्थापित हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीले हासिल गरेका उपलब्धिलाई निरन्तरता दिँदै संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव जीवराज अधिकारी र प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको थियो ।

आजदेखि सुरु भएको साधारणसभा कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ । संस्थामा पाँच हजार चार सयभन्दा बढी सेयर सदस्य रहेकाले सबैलाई एकै स्थानमा सहभागी गराउन कठिन हुने हुँदा सदस्यलाई पायक पर्ने विभिन्न केन्द्रमा साधारणसभा आयोजना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

संस्थाले भोलि कात्तिक ८ गते रक्षाचौरस्थित गुरुजजुर माध्यमिक विद्यालयमा साधारणसभा गर्नेछ । उक्त दिन वडा नम्बर ३ का सबै सदस्य, वडा नम्बर ४ अन्तर्गत नयाँबस्ती, सुनौलीपुर, रक्षाचौर, मजुवा, आँखा अस्पताल, गणेश टोल, सिमरा टोल, मुलकोट, तरुले, लामीदमार, घोरानेटी र पडा क्षेत्रका सदस्य सहभागी हुनेछन् । यस्तै, वडा नम्बर ७ अन्तर्गत माताकुटीदेखि नयाँगाउँसम्म जाने सडकको उत्तरतर्फका नयाँगाउँ, गणेशपुर, गौझेनी, श्रीगै र गनारी क्षेत्रका सदस्य पनि सहभागी हुने संस्थाले जनाएको छ ।

यसैगरी, कात्तिक ९ गते बनगाउँ स्कुलमा, कात्तिक १० गते कालाखोला माध्यमिक विद्यालयमा र कात्तिक ११ गते जनकल्याण माध्यमिक विद्यालय, दुधरासमा साधारणसभा सञ्चालन हुनेछ ।

साधारणसभामा १३ बुँदे प्रस्ताव पेस गरिने सचिव अधिकारीले बताउनुभयो । उहाँका अनुसार बितेको आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, कार्यविधि स्वीकृति तथा संशोधन, सहकारी एकीकरणसम्बन्धी अख्तियारीका विषयमा छलफल हुनेछ ।

त्यस्तै, ऋण तथा अनुदान लिने अख्तियारी, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक र कर्मचारीको नियुक्ति, पारिश्रमिक तथा सेवा–सुविधा निर्धारणसम्बन्धी अख्तियारीलगायतका प्रस्ताव पनि साधारणसभामा छलफलका लागि पेस गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस