२०८२ मङ्सिर २१ गते आइतवार

वडामा विकास : महिलालाई अटो चालक बनाउनेदेखि सडक कालोपत्रेसम्म

दाङ । नागरिकको सबैभन्दा नजिकको सरकार वडा सरकारले नागरिकका आवश्यकता पूरा गर्न भौतिक विकासदेखि मानविय विकासलाई जोड दिने गरेको छ । नागरिकहरुले खानेपानी, सडक, बिजुली लगायतका पूर्वाधारको विकास माग गरे बमोजिम वडा सरकारलाई पनि नागरिकको चाहना पुरा गर्न चटारो छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ ले गत आर्थिक वर्षमा कुवा निर्माणदेखि सडक कालोपत्रसम्मका भौतिक विकास गरेको छ ।

वडाअध्यक्ष धर्मराज वलीका अनुसार हात्तिगौडादेखि कटकुइया सडक २ सय ५३ मिटर सडक कालोपत्रे गरिएको छ । यो सडकको १५ लाख १५ हजार ९ सय ४९ रुपैँया खर्च गरेर कालोपत्रे गरिएको छ ।

यस्तै २२ लाख ३८ हजार १६० बजेट रहेको नमुनाटोल, शोभाराम भण्डारीको घरदेखि मावि अश्वारा जाने बाटोमा गतवर्ष ७८ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । यस सडकमा १७ लाख ३५ हजार ८८४ रुपैँया खर्च भएको वडा अध्यक्ष वलीले जानकारी दिनुभयो ।

यस्तै वडाका विभिन्न स्थानमा नाला निर्माण र दुधेना टोलमा सडक कालोपत्रेका लागि २१ लख ५ हजार ८२५ बजेट बिनियोजन भएकोमा ९९ दशमलव ८७ प्रतिशत खर्च भएको छ । यसैगरी अमृतपुर जाने बाटोमा करिब २७ मिटर कालोपत्रे गरिएको छ ।

यस्तै वडा कार्यालय परिसरमा कुवा निर्माण गरिएको छ भने इन्टरलक टायल बिछ्याउने काम पनि भएको छ । यसैगरी बटोलपुरमा भू तथा जलाधार कार्यालयको ५ लाख र वडा कार्यालयको २ लाख गरी ७ लाखमा ४२ मिटर तटबन्धन निर्माण गरिएको छ ।

वडाले बितेको आर्थिक वर्षमा ९५ दशमलव ३२ प्रतिशत भौतिक प्रगति गरेको छ भने बित्तिय प्रगति ९५ दशमलव ०९१ प्रतिशत गरेको वडाअध्यक्ष वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा १ करोड ४९ लाख ३६ हजार ८७२ कुल बजेट रहेको थियो । जसमा पुँजीगत अर्थात विकास बजेट १ करोड १३ लाख ७२ हजार ८७२ र प्रशासनिक खर्च अर्थात चालुतर्फ ३५ लाख ६४ हजार रहेको थियो ।

वडाले भौतिक विकाससंगै मानविय विकासलाई पनि जोड दिएको छ ।

बितेको आर्थिक वर्षमा वडाले महिलालाई साना गाडी ड्राइभिङ तालिम, टोल विकास संस्थालाई अभिमूखिकरण कार्यक्रम गरेको छ भने अपांगता भएका व्यक्तिका घरपरिवारलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण गरेको छ ।

वडामा ४५ लाख बढी राजश्व संकलन
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ ले बितेको आर्थिक वर्षमा ४५ लाख बढी राजश्व संकलन गरेको छ । वडाले बितेको आर्थिक वर्ष २०८१/२०८२ मा विभिन्न शिर्षकमा ४५ लाख २५ हजार १७१ रुपैँया राजश्व संकलन गरेको हो ।

वडा सचिव माधव पौडेलका अनुसार सिफारिस दस्तुर, सम्पति कर, भूमि कर, जग्गा तथा घरबहाल कर, व्यवसाय रजिष्ट्रेशन, व्यक्तिगत घटना दर्ता दस्तुर लगायतबाट राजश्व संकलन हुने गरेको छ ।

वडाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सिफारिस दस्तुरवाफत १८ लाख ७६ हजार ४१५ रुपैया राजश्व संकलन गरेको छ । यस्तै मालपोत करबाट ९ लाख १० हजार ९९ रुपैँया राजश्व उठाएको वडा सचिव पौडेलले जानकारी दिनुभयो ।

यस्तै सम्पति करबाट ६ लाख ८३ हजार ६७४, जग्गा तथा घरबहाल करबाट १ लाख ७ हजार ७८०, व्यवसाय रजिष्ट्रेशन दस्तुरवाफत १ लाख २५ हजार ६८५, अन्य सेवा शुल्कबाट ५ लाख ३९ हजार २०५, व्यक्तिगत घटना दर्ता दस्तुरवाफत १६५ हजार ९५० रुपैँया संकलन गरेको वडा कार्यालयले जनाएको छ । यसैगरी नक्सापास दस्तुरबाट ३३ हजार र अन्यबाट ८३ हजार ३६३ रुपैया राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस