दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले भौतिक एवं मानविय विकासका गतिविधि अघि बढाउँदै बजारमुखी वडाको रूपमा स्थापित हुँदै गएको छ । तुलसीपुर बजारको केहि महत्वपूर्ण भाग यस वडाभित्र पर्न जाने हुँदा यो वडा आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्रबिन्दु बन्न थालेको छ ।

भौतिक, सामाजिक र प्रविधिमैत्री कार्यक्रमहरू एकसाथ अघि बढाउँदै आएको वडा नं. ६ लाई तुलसीपुर उपमहानगरपालिकाभित्र विकासोन्मुख र अग्रगामी वडाका रूपमा हेरिएको छ ।
भौतिक पूर्वाधारसँगै मानव विकासमा पनि जोड दिँदै आएको वडा नं. ६ ले पछिल्लो वर्षमा उल्लेखनीय कामहरु गर्न थालेको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वडामध्ये सबैभन्दा पहिले बालश्रममुक्त वडा घोषणा गरिनु यस वडाको महत्वपूर्ण उपलब्धि हो । बालबालिकालाई श्रमबाट मुक्त गर्दै शिक्षा, खेलकुद र सिर्जनात्मक क्षेत्रमा सहभागी गराउने अभियानमा वडा नम्बर छ सक्रिय छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा वडाले दाङमै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता आयोजना गरेको थियो । जसले खेलकुदको क्षेत्रमा उत्साह जगाउनुका साथै युवाहरूमाझ सकारात्मक ऊर्जा भरिदिएको वडा अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले बताउनुभयो ।
खेलकुदलाई अनुशासन र एकताको प्रतीकका रूपमा अघि बढाउने वडाको योजनाले नागरिकमा आपसी सम्बन्ध र सहकार्यलाई पनि बलियो बनाएको उहाँले बताउनुभयो ।

यसैगरी, वडाले प्रविधिमैत्री सेवाको थालनी गर्दै अनलाइन प्रणालीमार्फत नागरिकलाई सहज रुपमा सेवा दिन थालेको छ । विभिन्न प्रमाणपत्र, दर्ता–पञ्जीकरण लगायतका कामहरू अब वडाको कार्यालयमा लामो समय कुर्नु नपरी घरमै बसेर सहज रूपमा सेवा लिन सकिने अवस्था सिर्जना भएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
यस्तै सर्वसाधारण नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी वडाले सार्वजनिक शौचालयको व्यवस्थापन गरेको छ । यस्तै नागरिकलाई सहजता मिलाउने उद्देश्यले सार्वजनिक धाराको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा दैनिक आवतजावत गर्ने बटुवाहरूलाई लक्षित गर्दै सार्वजनिक धारा र सार्वजनिक शौचालयको अवधारणा अघि सारिएको हो ।

वडा अध्यक्ष भण्डारीले वडामा अव्यवस्थित पोलहरुको व्यवस्थापनदेखि सडक कालोपत्रे, ग्राबेल, नाला निर्माणको काम समेत गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ बढी दिगो विकासका परियोजनाहरू अघि बढाउने बताउनुभयो ।















