दाङ । तुलसीपुर उपमहानगरपालिका–१६, १७, १८ र १९ मा वितरण हुँदै आएको बेलझुण्डी खानेपानी संस्थाले उपलब्ध गराइरहेको पानी आगामी ५० वर्षका लागि पर्याप्त हुने भएको छ ।
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख टीकाराम खड्काले मुहानको पानी पर्याप्त रहेकाले यसको दिगो व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । धारा वितरणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा वडा नंम्बर १८ का अध्यक्ष एवम् नगर प्रवक्ता माधव वली, वडा नंम्बर १९ का अध्यक्ष प्रेमनाथ योगी, खानेपानी संस्थाका पूर्व अध्यक्ष प्राध्यापक ईश्वर पोखरेल, बिजौरी उद्योग वाणिज्य संघका सदस्य ओमकार सुवेदी, नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीलगायतका वक्ताहरूले पानी पर्याप्त भए पनि व्यवस्थापनसहित वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व सदस्यहरू धनमाया वली, विश्रामी चौधरी, शुकबहादुर बस्नेत, पुष्कर रावत, चन्द्रा वली, इन्द्रबहादुर बस्नेत, रूद्रराज पाण्डे र तिलबहादुर खड्कालाई अतुलनीय योगदानका लागि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुकेश वलीले गर्नुभएको थियो ।














