२०८३ बैशाख १८ गते शुक्रवार

विकल्प बिना विस्थापन गर्न लागेको भन्दै दाङका सुकुम्बासीद्वारा रास्वपाका सांसदलाई प्रवेश निषेध

दाङ । उचित विकल्प र व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउन थालिएको भन्दै दाङका सुकुम्बासीहरू आन्दोलित भएका छन् । आन्दोलनको विरोध स्वरूप उनीहरूले जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई प्रवेश निषेध गर्ने सम्मका निर्णय पनि गरेका छन् ।

काठमाडौँका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाउन सुरु गरेपछि त्यसको राप दाङसम्म आइपुगेको हो । दाङका घोराही र तुलसीपुर क्षेत्रमा रहेका सुकुम्बासी संगठनहरूले बैठक बसी सरकारको यो कदमको कडा शब्दमा भत्र्सना गरेका छन् ।

उनिहरुले सरकार विरुद्ध नारा लगाउँदै घोराही र तुलसीपुरमा प्रदर्शन गरेका छन् । ‘बालेन सरकार मुर्दावाद’, ‘विकासका नाममा विस्थापन बन्द गर’, ‘सुकुवासी अपराधि होइनन्, यो देशका नागरिक हुन्‌’, ‘गरिबी हटाउ–गरिब होइन’, दमन होइन समाधान चाहिन्छ’ जस्ता नारा लगायएर प्रदर्शन गरेका छन् ।

हामी भूमिहिन अव्यवस्थित सुकुमवासी अभियानका संयोजक हरिश गिरीले आफुहरुलाई हुकुमवासीको ट्याग लगाउने गरिएको भन्दै आपत्ति जनाउनुभयो । करिब ३३ वर्षअघि आफुहरुले तुलसीपुरमा ऐलानी जग्गामा बनाएको घरमा बसिरहेको बताउँदै उहाँले सरकारले डोजर चलाउँदा आफुहरु घरबारबिहिन हुने बताउनुभयो ।

अव्यस्थित सुकुम्बासीहरूले चुनावका बेला रास्वपाले सुकुम्बासी बस्तीमा डोजर चल्न नदिने बताएको तर अहिले सरकारमा रहेकै बेला बस्ती उठीबास लगाउन थालिएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । रास्वपा नेतृत्वको सरकारले हातमा पुर्जा दिने आशामा बसेका बेला डोजर लगाएर घर भत्काउनु भनेको गरिबको छातिमा लात्ती प्रहार भएको सुकुमबासी लिला विकले बताउनुभयो ।

दाङमा सुकुम्बासी र राजनीतिक दलका कार्यकर्ताबीच तनाव बढ्न सक्ने देखिएपछि स्थानीय प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ । सुकुम्बासीहरूले ’विकल्प बिनाको विस्थापन स्वीकार्य छैन’ भन्दै चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस