रोल्पा । रोल्पा जिप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान अझै खुल्न सकेको छैन । हिजो बिहीबार रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ जना बालक, ४ पुरुष र १२ महिला रहेको यकिन भए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनास्थलमै रहेका रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले अप्ठेरो ठाउँ भएकाले शव निकाल्न समय लागेको बताउनुभएको छ । जिप सडकबाट झन्डै ८ सय मिटर तल खसेको छ । खोंचमा भएकाले सजिलै शव निकाल्ने अवस्था नरहेको र अहिले सुरक्षाकर्मीहरूले बाटो बनाउँदै गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेको जिपको अघिपछि रहेका जिपमा त्यही गाउँका अरु स्थानीय भए पनि शव बाटोमा निकाल्न नसकेकाले पहिचान हुन नसकेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमखु डीएसपी खुमानन्द पाण्डेले बिहीबार रुकुमकोटबाट जलजलातर्फ २–३ वटा गाडी गएकाले कुन गाडीमा को चढेका थिए भन्ने कुरा स्पस्ट नहुँदा सनाखतमा समस्या भएको बताउनुभयो ।















