दाङ, १७ भदौ । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले दाङमा सञ्चालन भएको एउटा परियोजनाको झण्डै साढे १३ करोड बढी बजेट फ्रिज भएको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचले ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १३ करोड ३८ लाख ९९ हजार रुपैयाँ फ्रिज भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३ साउनदेखि दाङमा सञ्चालन भएको हो । ४९ करोड ५३ लाख ८७ हजार बजेटमा ३६ करोड १४ लाख ८८ हजार रुपैयाँ मात्रै खर्च भएको परियोजना प्रमुख एवं वरिष्ठ कृषि अधिकृत लक्ष्यबहादुर चौधरीले जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चालु आर्थिक वर्ष २०८२/०८३ देखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको नाममा परिणत भएको छ । यस कार्यक्रमका लागि यस वर्ष पाँच करोड ३६ लाख ५३ हजार रुपैयाँ बजेट छ ।
यसै वर्षदेखि सकिन लागेको कार्यक्रमका लागि अघिल्ला वर्षको जस्तै वर्षभरि गर्ने विभिन्न कार्यक्रमहरु तय गरिएको छ । कार्यालयका वरिष्ठ कृषि अधिकृत चौधरीका अनुसार धेरै कार्यक्रम अनुदानका रहेका छन् ।














