२०८३ जेष्ठ १० गते आइतवार

दाङका दुई उपमहानगरको बेरुजु दुई अर्ब नजिक

दाङ । दाङका दुई उपमहानगरपालिकाको बेरुजु रकम दुई अर्ब नजिक पुगेको छ । महालेखा परिक्षकको ६३ औँ प्रतिवेदन अनुसार जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरको बेरुजु दुई अर्ब नजिक पुगेको हो । प्रतिवेदन अनुसार दुई उपमहागरपालिकाको बेरुजु रकम १ अर्ब ८४ करोड ४ लाख ९८ हजार पुगेको छ ।

प्रतिवेदन अनुसार घोराहीको तुलनामा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु बढी देखिएको छ । आर्थिक वर्ष २०८१/२०८२ सम्मको लेखा परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु रकम ९७ करोड ५ लाख ३९ हजार पुगेको देखिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो पटकको लेखा परिक्षणमा १ करोड १७ लाख ६४ हजारमात्रै बेरुजु थपिएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा अधिकांश कागजात जलेका कारण पनि पछिल्लो लेखा परिक्षणमा बेरुजु रकम कम देखिएको हो ।

तुलसीपुरमा आर्थिक वर्ष २०८०/२०८१ मा मात्रै ८ करोड ९४ लाख १६ हजार बेरुजु रकम आएको थियो ।

यस्तै घोराही उपमहानगरपालिकाको बेरुजु रकम ८६ करोड ९९ लाख ५९ हजार पुगेको छ । घोराहीमा आर्थिक वर्ष २०८१/२०८२ को लेखा परिक्षणमा ११ करोड २३ लाख ७० हजार बेरुजु थप भएको महालेखाको ६३ औँ प्रतिवेदनमा उल्लेख छ । घोराहीमा अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ मा ६ करोड ७८ लाख २८ हजार रकम बेरुजु देखिएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन/नियम विपरीत स्वीकृत बजेट र कार्यक्रम बाहिर गएर खर्च गर्ने परिपाटी, कर्मचारी, उपभोक्ता समिति वा ठेकेदारहरूले लिएको पेस्की रकम समयमै फर्स्यौट नगर्ने वा काम नसकिँदै थप पेस्की दिने प्रवृत्ति, कागजात र प्रमाणको अभाव, बिल–भरपाई दुरुस्त नहुनु, कागजात नष्ट हुनु वा हराउनु लगायतका कारणले बेरुजु रकम बढ्दै गएको देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस