दाङको तुलसीपुरमा स्थानीय उत्पादनको बजारीकरण तथा युवा उद्यमशीलताको विकासलाई लक्ष्य गर्दै ओमेटो ग्रुपद्वारा सञ्चालित ओमेटो मार्केट प्लेसको १४औँ शाखा उद्घाटन गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोक नजिक सञ्चालनमा ल्याइएको शाखाले कृषि तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै युवालाई सीप, अवसर र बजारसँग जोडेर रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने बनाउने उद्देश्यसहित शाखा सञ्चालनमा ल्याइएको बताइएको छ।
कम्पनी सञ्चालक नरेन्द्र केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर केसी र ओमेटो ग्रुपका कम्पनी डाइरेक्टर सूर्यबहादुर कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई उपभोक्तासम्म पु¥याउन ओमेटो ग्रुप प्रभावकारी माध्यम बनेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै युवालाई उद्यमशीलतामा जोड्ने अभियान समयानुकूल र आवश्यक रहेको उल्लेख गर्नुभयो। “स्वदेशमै उत्पादन, बजारीकरण र रोजगारी सिर्जनालाई प्राथमिकता दिन सके मात्रै आर्थिक समृद्धि सम्भव हुन्छ,” उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने यस्ता संस्थालाई स्थानीय सरकारले आवश्यक सहयोग गर्दै जानेछ।”
उहाँले कम्पनी जहाँ दर्ता भएपनि स्थानीय सरकारमा सूचीकृत भएर सेवा विस्तार गर्न आग्रह गर्नुभयो। सरकारका नीति तथा कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्दा स्थानीय सरकार सधैँ साथमा रहने समेत उहाँले बताउनुभयो।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर केसीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय उत्पादनको प्रयोग बढाउँदै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
ओमेटो ग्रुपका वरिष्ठ प्रमोटर गिरिराज लम्सालको स्वागत मन्तव्य तथा कम्पनीका डाइरेक्टर सूर्य बहादुर कार्कीको विषय प्रवेशबाट सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा माइजु अचार उद्योगका सञ्चालक राजकुमारी डाँगी थापा, समृद्ध बुहारी अचार उद्योगका सञ्चालक गोमा भण्डारी र शान्ता पौडेल रहनुभएको थियो।
यस्तै रमेश अधिकारी, भानुभक्त पौडेल, रामचन्द्र खड्का, कृष्णदेवी पौडेल, दीक्षा श्रेष्ठ, एन.के महर्जन, घनश्याम भण्डारी, तुलसा खड्का पुन,दीपा थापा, तिलक छन्त्याल, गिरिराज लम्साल, तुलसीराम सेढाईं लगायतलाई खादा ओढाएर सम्मान गरिएको थियो।













