२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरले जनता आधारभूत विद्यालय हरनेटीमा राष्ट्रिय बाल दिवस मनाउने

दाङ, २० भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले यस वर्षको ६१ औँ राष्ट्रिय बाल दिवस ग्रामिण क्षेत्रको विद्यालयमा मनाउने भएको छ ।

उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले यसपटकको ६१ औँ राष्ट्रिय बाल दिवस तुलसीपुर–३ हरनेटीमा रहेको जनता आधारभूत विद्यालयमा मनाउने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा नजिकका अन्य विद्यालयले पनि सहभागीता जनाउने छन् । नगरस्तरिय बाल संजालका अध्यक्ष प्रशंसा केसीको अध्यक्षमा शुक्रबार बसेको बैठकले दिवसको अवसरमा भदौ २९ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले दिवसको अवसरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि चक्लेट दौड, कक्षा ४ देखि ५ सम्मका विद्यार्थीका लागि गणित दौड, कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यालयका लागि प्रतिभा पहिचान प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

शिक्षा युवा तथा खेलकुद महाशाखा, महिला, बालबालिका तथा सामाजिक विकास शाखा र नगरस्तरिय बाल संजालले संयुक्तरुपमा कार्यक्रम गर्ने भएका हुन् । ‘बालबालिकामा लगानी–सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको राष्ट्रिय बाल दिवसलाई सफल बनाउन सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

तयारी बैठकमा नगरको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र भण्डारी, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसिपिसी)का अध्यक्ष नवराज लामिछाने, ओरेक दाङका कल्पना चौधरी लगायतले ग्रमिण क्षेत्रमा बाल दिवस मनाउँदा कार्यक्रमको प्रभावकारीता बढ्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस