२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरले जलेकै भवनबाट भोलिदेखि सेवा दिने


दाङ । तुलसीपुर उपमहानगरपालिकाले जलेकै भवनबाट भोलिदेखि सेवा दिने भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको ३८ औँ कार्यपालिका बैठकले भोलि मंगलबारदेखि जलेकै भवनबाट सेवा दिने निर्णय गरेको हो ।

नगरका प्रवक्ता माधव वलीले बैठकका निर्णयबारे जानकारी दिनु हुँदै कठिन परिस्थितिका बिच पनि उपमहानगरपालिकाले भोलिदेखि नियमित सेवा दिने बताउनुभयो ।

जेनजीको आन्दोलनले उपमहानगरपालिको सेवा प्रवाह गर्ने दुई वटै भवनमा क्षति पुगेको छ । तर नागरिकको समस्यालाई मध्यनजर गरी सेवाप्रवाह नियमित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । नगरले तत्काल पाल टाँगेर सेवा दिने नगरका प्रवक्ता वलीले बताउनुभयो । केहि दिनपछि नगरको नवनिर्मित व्यापारिक भवन (ट्रेड टावर) लाई मर्मत गरिसकेपछि त्यसै भवनबाट सेवा प्रवाह हुने उहाँको भनाई छ ।

यस्तै उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब नलिने भएका छन् । प्रवक्ता वलीका अनुसार जेनजीको आन्दोलनपछि नगरमा ठुलो क्षति पुगेपछि भौतिक निर्माणमा सहयोग पुगेस् भन्दै नगरका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब नलिने भएका हुन् ।

एक महिनाको तलब वाफतको रकम उपमहानगरपालिकाको भौतिक निर्माणमा खर्च गर्ने कार्यपालिकाले निर्णय गरेको छ । कार्यपालिका बैठकले आन्दोलनका क्रममा निधन भएकाप्रति शोक प्रस्ताव पारित गरेको छ भने घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।

यस्तै आन्दोलनको नाममा सार्वजनिक सम्पतिमा क्षति पुर्‍याउनेको पहिचान गरी कार्बाहीको समेत माग गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस