२०८२ फाल्गुन २६ गते मङ्गलवार

घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम शुरु हुन अझै दुई हप्ता लाग्ने

दाङ । बहुचर्चित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम कार्तिकको अन्तिमतिरबाट मात्रै शुरु हुने भएको छ । यसअघि तिहार लगत्तै शुरुवात हुने भनिएपनि डिजाइनको काम नसकिएकाले निर्माणको काम शुरु हुन अझै करिब दुई साता लाग्ने सडक डिभिजन कार्यालय घोराहीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी ईन्जिनियर अशोक चौधरीले रेडियो हाम्रो पहुँचसंगको कुराकानीमा करिब दुई सातापछि निर्माणको काम शुरु हुने बताउनुभयो । निर्माण कम्पनिले अहिले सर्भेको काम सकेको र अझै डिजाइनको काम अन्तिम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नापजाँचको काम अन्तिम चरणमा पुगेको छ । आयोजना ठुलो भएका कारण शुरुमा सडक डिभिजन कार्यालय र निर्माण कम्पनिले संयुक्तरुपमा सर्भे गरेको बताउनुभयो । अब करिब दुई हप्तामा डिजाइनको काम सकेर निर्माण शुरु हुने उहाँको भनाई छ ।

घोराही–तुलसीपुर चारलेन सडक तीन वर्षभित्र निर्माण सक्ने गरी दिवा–बन्धन भगवती जेभिले २०८२ साल असार २४ गते निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनिले भ्याटसहित २ अर्ब ५२ करोडमा निर्माणको जिम्मा लिएको छ । तर सम्झौता भएको चार महिना बित्नै लाग्दा पनि निर्माणको काम शुरु हुन सकेको छैन् ।

निर्माण कम्पनिका आधिकारिक प्रतिनिधि कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुंगानाले निर्माणको काम शुरु हुन अझै करिब २ साता लाग्ने रेडियो हाम्रो पहुँचलाई बताउनुभयो । उहाँले कार्तिकको अन्तिम सातातिरबाट फिल्डमा निर्माणको काम शुरु हुने बताउनुभयो ।

डिजाइनको काम पुरा गरेर सडक डिभिजनलाई उपलब्ध गराउने र सडक डिभिजनले प्रमाणित गरेपछि निर्माणको काम शुरु हुने भएको हो । घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि यसअघि करिब ८ वर्षसम्ममा पनि निर्माण नभएपछि ठेक्का तोडेर नयाँ टेन्डर गरिएको थियो ।

घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तिखौवासम्म २१ दशमलव ५ किलोमिटर सडक चारलेन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस