दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा निरन्तर वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित मोन्था नामक चक्रवातको असरले नेपालमा पनि वर्षा र हिमपात भएको हो ।
यसको प्रभाव अझै बढ्ने र पूर्वी तराई र मधेश प्रदेशका जिल्लामा बढी क्षति पुर्याउन सक्ने आशंका छ । मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो ।
शनिबार भोलि बिहानदेखि मात्र मौसम सुधार आउने अनुमान गरिएको छ । अहिलेपनि दाङ उपत्यकाका साथै आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ ।
यसैबिच लगातारको वर्षाका कारण धानबालीमा क्षति पुग्न थालेपछि किसान चिन्तित बनेका छन् । धान काटिसकेर भित्र्याउन नपाएका किसानले धान खेतमै उम्रने सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
तुलसीपुर–११ का हरि चौधरीले धान काटेको तर भित्र्याउन बाँकी रहेको बताउनुभयो । उहाँले लगातार वर्षा भएमा धानबालीमा ठुलो क्षति पुग्ने चिन्ता व्यक्त गर्नुभयो ।
















